अहिलेका


माओवादीले पाउने ४ मन्त्रालय टुंगियो

जनकपुरधाम, १९ असोज ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले मन्त्रालयहरूको टुंगो लगाएको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादी केन्द्रले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफबाट मन्त्रालयहरुको मोटामोटी टुंगो लागेको माओवादीका एक नेताले बताए ।

उनका अनुसार– ‘हामीले पाउने मन्त्रालयहरुको लगभग टुंगो लागेको छ,’ ती माओवादी नेताले भने, ‘शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय हामीले पाउने भएका छौं । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि हाम्रो भागमा परेको छ । थप युवा तथा खेलकूद मन्त्रालय हामीले पाउने छौं ।’

यसअघि अर्थ मन्त्रालय र उर्जा मन्त्रालय पाइसकेको माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको ती नेताले बताए । देउवा र प्रचण्डबीच सोमबार मोटामोटी टुंगो लागेको भएता पनि मंगलबार शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालयको भागवण्डालाई अन्तिम रुप दिइने माओवादी स्रोतले बतायो । मन्त्रालयको भागवण्डा मिलेपछि दलहरुले आ–आफ्नो पार्टीमा छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउने जनाइएको छ ।

माओवादीबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगो लागिसकेको स्रोतले बतायो । माओवादीले पाउने चार मन्त्रालयमा देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको नाम चर्चामा छ । बाँकी एउटा मन्त्रालयमा प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती, शिवकुमार मण्डल र अमनलाल मोदीमध्ये एकजना पर्न सक्ने वा यी नाम बाहेक सिन्धुलीबाट हरिबोल गजुरेल पनि पर्न सक्ने सम्भावना रहेको स्रोतको भनाई छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!