नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटीको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री निर्वाचित भएका छन्। अध्यक्षका अर्का उम्मेदवार दिननाथ गौतमलाई ७६ मतले पछि पार्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन्।
हिजो भएको निर्वाचनको परिणाम राति सार्वजनिक भएको थियो। अन्तिम परिणाम अनुसार सहयात्रीले १६२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी गौतमले ८६ मत ल्याए।
त्यसैगरी, प्रदेश उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी ‘छिन्तु’ र रामप्रसाद ढुङ्गाना विजयी भएका छन्। त्यसैगरी सचिवमा काभ्रेका इन्द्र बहादुर थिङ ‘छिन्ताङ’ निर्वाचित भए। उनी रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै निर्वाचित भएका हुन्। थिङले १४९ मत ल्याउँदा प्रतिस्पर्धी अधिकारीले ७८ तथा डंगोलले १४ मत पाए।
प्रदेशको सहसचिवमा दलबहादुर बुर्लाकोटी ‘विजय’, माधव लामिछाने ‘समीर’ र प्रकाश श्रेष्ठले जित हात पार्दा कोषाध्यक्षमा संगीता भट्टराई विजयी बनेकी छन्।
हिजो भएको चुनावी प्रतिस्पर्धामा अध्यक्षसहित नौ जना पदाधिकारीका लागि २९ जनाले उम्मेदवारी दिएका थिए।यसअघि पदाधिकारीमा सहमति हुन नसकेपछि २७५ सदस्यीय प्रदेश समिति बनाएर सम्मेलन सकिएको थियो। प्रदेश समितिमा धेरै पटक छलफल भए पनि सर्वसम्मत हुन नसकेपछि आइतबार मतदान भएको हो।
