अहिलेका


मुख्यमन्त्री कार्यालयमा छापापछि मुख्यमन्त्री राउतले भने– ‘यो संघीयतामाथिको हस्तक्षेप हो’

जनकपुरधाम, १३ असोज ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउत आक्रोशित भएका छन् । उनले आयोगले मुख्यमन्त्री कार्यालयमा फाइल अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि अख्तियारलाई छापामारको संज्ञा दिएका छन् ।

मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत तरिकाले आफ्नो कार्यालयमा छापा मारेको आरोप लगाए ।

उनले भने ‘अख्तियारले छापा मारेको तरिका ठिक भएन । जुन हिसाबले अख्तियारले छापा मार्यो त्यो फट्याइँ हो,’ अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले भने– ‘सहज तरिकाले आएर फाइल मागेको भए हामी दिन्थ्यौँ । तर छापामार शैलीमा आउनु प्रदेश सरकारमाथिको षड्यन्त्र भयो ।’

 

साइकल ल्याएको सम्बन्धमा कम्पनी नखुलाई ‘११ करोडको १७ हजार साइकल किनिएको’ एक पत्रिकाको समाचारप्रति आपत्ति जनाउँदै मुख्यमन्त्री राउतले भने– ‘नेपाल सरकारको सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को दफा ३ मा उपदफा १ र २ बमोजिम विवरण तयार गर्दा निर्माण कार्य वा सेवाको विशेषताहरु स्पष्ट रुपमा बुझनेगरी उल्लेख गर्ने अर्को कुनै खासब्रान्ड, ट्रेडमार्क, नाम, पेटेन्ट, डिजाइन, प्रकार, उत्पति वा उत्पादकको नाम उल्लेख गर्न सकिने व्यवस्था नै छैन ।’

 


कानुनमा कम्पनीको नाम उल्लेख गर्न नपाउने स्पष्ट व्यवस्था रहेको अवस्थामा कम्पनीको नाम उल्लेख नगरेको भन्दै उनले केही सञ्चारमाध्यमले भ्रामक, कपोकल्पित र पूर्वाग्रही भएर समाचार प्रकाशन गरेको आरोप लगाए ।

उनले पत्रकारहरुलाई इंगित गर्दै आफूमाथि केहीहरु समाजिक सञ्जालमा समते विरोध गरिरहेको गुनासो गर्दै संघीयता विरोधी रहेका तिनीहरुलाई सार्वजनिक खरिद ऐनअनुरुप ई–बिडिङ्ग मार्फत खरिद गरिएको साइलमा कसरी अनियमितता भयो भन्दै प्रमाणित गर्न चुनौतीसमेत दिए ।

उनले अख्तियार प्रक्रियागत रुपमा आएको भए पनि आफूहरुले फाइल दिने नै भन्दै अख्तियारको छापाप्रति असन्तुष्टि जनाए ।
उनले प्रदेश सरकार संघीयता र सुशासनका लागि प्रतिबद्ध रहेको भन्दै प्रदेश सरकारलाई बदनाम गर्न साइकल वितरणसम्बन्धी भ्रामक समाचार प्रकाशित गरिएको जिकिर गरे ।

उनले भने– ‘प्रदेश सरकारको सर्वोच्च निकाय मुख्यमन्त्रीको कार्यालय जो आफैं सुशासन कायम गर्नका लागि परेका छन् । सरकारले आफैँ प्रदेशमा जनलोकपाल ल्याएको छ । संस्थाको गरिमा कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामार शैलीको तरिका अपनाउनु गलत हो ।
अख्तियारको कामकारबाहीप्रति आपत्ति जनाउँदै अख्तियार आयोगका प्रमुख प्रेम राईलाई समेत फोन गरेर गुनासो सुनाएको पत्रकार सम्मेलनमा उनले जनाए ।अख्तियार प्रमुख राईले पनि अख्तियारका कर्मचारीको तरिका ठिक नभएको कुरा आफूलाई प्रतिक्रिया दिए ।

 

प्रदेश सरकारलाई बदनाम गर्नेगरी सरकारको ब्याकबाइटिंगमा लागेका केही व्यक्तिहरु मुख्यमन्त्री र प्रदेश सरकारलाई बदनाम गर्न सक्रिय रहेको उनले जिकिर गरे ।

प्रदेश सरकारका अति नै महत्वकांक्षी बेटी बचाउ, बेटी पढाउ अभियान कार्यक्रमअन्तर्गत साइकल वितरणमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले साइकल वितरणसम्बन्धी विभिन्न फाइल नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

कक्षा ८ मा अध्ययनरत्त छात्रालाई वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको उजुरीका आधारमा आयोगले मुख्यमन्त्री कार्यालयमा साइकल खरिद वितरणलगायतका फाइल नियन्त्रणमा लिएको अख्तियारको बर्दिवासस्थित कार्यालयले जनाएको छ ।

आयोगको बर्दिवास कार्यालयका उपसचिव मेघराज रिमालले साइकल वितरण र खरिदका फाइलहरुको विवरण अध्ययन अनुसन्धान भइरहेको बताए ।

उनले अध्ययन अनुसन्धानपछि सत्यतथ्य बाहिर आउने उनको भनाइ छ । विभिन्न फाइलहरुको खोजी कार्य जारी राख्दै आयोग बर्दिबासबाट खटिआएका ६ सदस्यीय टोलीले अझै पनि छापा मार्दै कागजातहरु नियन्त्रणमा लिएको छ।

लालबाबु राउतको सरकारले बेटी बचाउ बेटी पढाउ अभियान कार्यक्रम मुख्यमन्त्री कार्यालयबाटै संचालित गर्दै आएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!