जनकपुरधाम, ८ कात्तिक ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका प्रादेशिक प्रमुखहरूसँग प्रदेशको शान्तिसुरक्षाका विषयमा परामर्श गरेका छन् ।
जनकपुरधामस्थित मुख्यमन्त्रीको सरकारी निवास मधेस भवनमा सोमबार भएको सुरक्षा प्रमुखहरूसँगको सो बैठक नियमित भएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । तर, जनमत पार्टीले केही दिनअघिबाट थालेको ‘जनकारबाही’ पछि उत्पन्न सुरक्षा चुनौतीका विषयमा बैठकमा विमर्श भएको जनाइएको छ ।
स्रोतका अनुसार डा.सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले केही दिनअघि सरकारी कर्मचारीमाथि गरेको दुव्र्यवहार र त्यसपछि पनि जनप्रतिनिधि, कर्मचारी र अन्यलाई कारबाही गर्ने चेतावनी दिएपछि उत्पन्न डर र त्रास हटाई शान्तिसुरक्षाको अनुभूति दिलाउन गर्न सकिने प्रयासका बारेमा बैठकमा छलफल भएको छ ।
प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण समेत उपस्थित रहेको बैठकमा जनमत पार्टीले गरेको कथित जनकारबाही रोक्न चुक भएका विषयमा समेत समीक्षा गरेको छ । साथै हिँसात्मक र उपद्रो मच्चाउने ढंगले कुनै पनि राजनीतिक दल वा समूहले गर्ने आन्दोलन निरुत्साहन गर्न अपनाउनुपर्ने सुरक्षा रणनीति र सतर्कताका बारेमा बैठकमा कुराकानी भएको छ ।
प्रदेशमा बढ्दै गरेका हिँसा, हत्या र दुव्र्यवहारका घटना रोक्न र भएका घटनाका दोषीहरूलाई कार्बाही गर्ने विषयमा सुरक्षा निकायको तयारीका बारेमा पनि बैठकमा परामर्श भएको बताइएको छ ।
बैठकमा प्रदेश प्रहरीका डिआइजी, सशस्त्र प्रहरीका डिआइजी र सेनाका उच्चाधिकारी सहभागी रहेका थिए ।
