अहिलेका


मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्छ : मन्त्री रामनरेश राय

मुख्यमन्त्रीको कृपाले म मन्त्री भएको होइन : राय

जनकपुरधाम, २९ कात्तिक ।

प्रदेश २ का उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायले केन्द्रीय गठबन्धनअनुरूप प्रदेश २ मा संयुक्त सरकारलाई पूर्णता दिन मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले सरकारमा सहभागी जनता समाजवादी पार्टी(जसपा) नेपालका मुख्यमन्त्रीसहित सम्पूर्ण मन्त्रीहरूले राजीनामा दिएर पार्टीका तर्फबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराउनु उचित हुने तर्क गरे ।

मुख्यमन्त्री राउतले आइतबार बिहान राजधानी काठमाडौं जानअघि उद्योग, पर्यटन तथा वन मन्त्री रायलाई बोलाएर गठबन्धन सरकारमा नेकपा(एकीकृत समाजादी) लाई सहभागी गराउन मन्त्री पदबाट राजीनामा दिन भनेको समाचार सञ्चारमाध्यमहरूमा बाहिरिएपछि मन्त्री रायले सो प्रतिक्रिया दिएका हुन् ।

मुख्यमन्त्री स्वकीय सचिवालयका कर्मचारीहरूले आइतबार साँझ सञ्चारकर्मीहरूलाई मन्त्री रायले मुख्यमन्त्रीको निर्देशनमा राजीनामा दिने र सो मन्त्रालयमा नेकपा(एकीकृत समाजवादी) का संसदीय दलका नेता शत्रुधन महतोलाई मंगलबार शपथग्रहण गराउने तयारी भइरहेको जानकारी गराएका थिए ।

आइतबार बिहानको भेटमा मुख्यमन्त्री राउतले गठबन्धन सरकारमा नेकपा (एकीकृत समाजवादी) लाई सामेल गराउन छलफल गरिरहेको जानकारी मात्र आफूलाई गराएको भन्दै मन्त्री रायले त्यसको प्रत्युत्तरमा आफूले पार्टी पद्धतिमा व्यक्तिगत छलफल नगरेर वैधानिक समितिमार्फत सामूहिक छलफल गरेर निष्कर्षमा पुग्न मुख्यमन्त्रीलाई आग्रह गरेको बताए ।

प्रशोधक डटकमसँग कुरा गर्दै उनले भने, ‘मुख्यमन्त्रीले मसँग राजीनामा माग गर्नुभएको छैन ।’

आइतबार बिहानको भेटमा मुख्यमन्त्री राउतले गठबन्धन सरकारमा नेकपा (एकीकृत समाजवादी) लाई सामेल गराउन छलफल गरिरहेको जानकारी मात्र आफूलाई गराएको भन्दै मन्त्री रायले त्यसको प्रत्युत्तरमा आफूले पार्टी पद्धतिमा व्यक्तिगत छलफल नगरेर वैधानिक समितिमार्फत सामूहिक छलफल गरेर निष्कर्षमा पुग्न मुख्यमन्त्रीलाई आग्रह गरेको बताए ।

मन्त्री रायले आफू मुख्यमन्त्रीको कृपाले मन्त्री नभएको र तत्कालीन समयमा राष्ट्रिय जनता समाजवादी पार्टीबाट संस्थागत निर्णयले मन्त्री भएकाले मुख्यमन्त्रीले राजीनामा माग गर्न नसक्ने जिकिर गरे ।

उनले जनता समाजवादी पार्टी नेपाल बनाउन र मान्यता दिलाउन आफूले अह्म भूमिका निर्वाह गरेको उल्लेख गर्दै पार्टी कार्यकारिणी सदस्य रहेको आफूलाई मुख्यमन्त्रीको एकल निर्णयले हटाउन नसकिने बताए ।

‘मुख्यमन्त्री पनि पार्टीले नै बनाएको हो, मन्त्री पनि । त्यसैले कुनै मन्त्री हटाउँदा पार्टीको वैधानिक समितिबाट निर्णय हुनुपर्छ,’ मन्त्री रायले भने ।

मन्त्री रायले जनता समाजवादी पार्टी(जसपा) नेपाल बनाउन आफूहरू तत्कालीन राजपा नेपालबाट समूहगत रूपमा आएको र अहिले पार्टी समायोजनको प्रक्रिया नटुंगिँदै मन्त्री हटाउने विषयमा निर्णय लिँदा राम्रो सन्देश नजाने स्पष्ट पारे ।

‘नेकपा (एकीकृत समाजवादी) का नेता शत्रुधन महतोजी सरकारमा सहभागी हुने निर्णय उहाँको होइन नि, उहाँको पार्टीको हुनुपर्छ । त्यस्तै जसपा नेपालबाट मन्त्रीमा को रहने वा नरहने भन्ने विषयमा पार्टीले टुंगो लगाउनुपर्छ,’ मन्त्री रायले भने ।

मुख्यमन्त्रीसँग मन्त्री हटाउने अधिकार रहने विषयमा आफू जानकार भएको तर मुख्यमन्त्रीलाई पनि पार्टीले नै बनाएको भन्ने हेक्का राख्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री रायले जसपा निर्माणपछि पार्टी नेता राजेन्द्र श्रेष्ठका काठमाडौंस्थित घरमा अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, अशोक राई, महिन्द्र यादव रेणु यादवलगायतका नेताहरूबीच सरकारका स्वरूपबारे कुनै पनि निष्कर्षमा पुग्नुअघि पार्टीको संस्थागत निर्णय हुनुपर्ने केही समयअघिको भद्र सहमतिबारे स्मरण गराउँदै यसविपरीत पार्टीको

कुनै पनि तहमा छलफल नगरी मुख्यमन्त्रीले मन्त्रीबारे निर्णय गर्न उचित नहुने बताए ।

मन्त्री रायले मधेस राजनीतिमा आफू कुनै बेला एउटा पार्टीको राष्ट्रिय अध्यक्ष रहेको र गजेन्द्रनारायण सिँहको सामीप्यमा रहेर पार्टी पद्धति बुझेको भन्दै मुख्यमन्त्रीको बुझाइबारे पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग कुरा भएको जानकारी दिए ।

उनले भने, ‘अध्यक्षज्यूले मुख्यमन्त्रीसँग कुरा गर्ने बताउनुभएको छ ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!