अहिलेका


मेयरको गुन्डागर्दी : कमिसनखोरीबारे सूचना चुहाउँदा कर्मचारी कुटिए

जनकपुरधाम, ८ असोज ।
धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले नगरपालिकाकै एक कर्मचारीमाथि हातपात गरेका छन् । सञ्चारकर्मीलाई नगरपालिकामा हुँदै आएका अनियमितताका विषयमा जानकारी गराएको भन्दै कर्मचारी चन्देश्वर ठाकुरमाथि उनले कार्यालयभित्रै हातपात गरेका हुन् ।

नगरप्रमुख दाससँगै उनका कार्यकर्ता विदेह नगरपालिका वडा नम्बर ३ का शत्रुधन राय र अंगद रायले समेत उनीमाथि जाइलागेका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

‘म कार्यालयमा काम गरिरहेको थिएँ । मेयरसाहब मेरो कार्यकक्षमा आइपुगे,’ ठाकुरले भने, ‘कार्यकक्षमा उनका दुई कार्यकर्ता शत्रुधन राय र अंगद राय सँगै आए, मेयरसाहबसँगै दुवैले मिलेर मेरा तिघ्रामा लातीले हाने,’ पीडित कर्मचारी ठाकुरले भने ।

नगरपालिकामा हुने अनियमितताका समाचार तैँले नै उनले सञ्चारमाध्यममा सम्प्रेषण गराइस् भन्दै मेयरले धक्कामुक्की र उनका कार्यकर्ताहरू शत्रुधन र अंगदले लातीले पिटेको ठाकुरले बताए ।

विदेह नगरपालिकाका मेयरबाट कुटिएका भनिएका कर्मचारी चन्देश्वर ठाकुर

केही दिनअगाडि मात्रै बाख्रा वितरणमा विदेश नगरपालिका नेतृत्वले व्यापक अनियमितता गरेको भन्दै सामाचार बाहिरिएका थिए । चन्देश्वर ठाकुर कृषि अधिकृतका रूपमा विगत चार वर्षदेखि विदेह नगरपालिकामा कार्यरत छन् ।

विषयगत जिम्मेवारीका कारण चन्देश्वरले नगरपालिकाबाटै बोरिंग, दमकल वितरण, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलगायतका सञ्चालन गर्दै आइरहेका छन् । सो कार्यक्रम सञ्चालन गरेबापत मेयरले १२ लाख रुपैयाँ कमिसन मागेको उनले आरोप लगाए । उनले भने, ‘मेयरसाहब कमिसन माग्दै आइरहेका थिएँ, मैले अनियमित काम गर्दिनँ भन्दै टारेँ । त्यसैले उनले कार्यकर्ता बोलाएर पिट्न लगाए ।’

उनका अनुसार मलखादको डिलरका फाइलहरू यसअघि नै उनले बुझाइसकेका थिए तर सोही फाइललाई मुद्दा बनाएर उनीमाथि मेयर र उनका कार्यकर्ताहरू जाइलागेका हुन् ।

ठाकुरले आफूमाथि भएको हातपातका विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत जानकारी गराए तर कुनै रेस्पोन्स नलिइएको गुनासो गरे ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीवकुमार साहले कार्यालयमा कुनै कर्मचारीमाथि हातपात नभएको दाबी गरे । नगरप्रमुखलाई बदनाम गर्नकै लागि झुटा प्रचार फैलाइएको उनको भनाइ थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!