जनकपुरधाम, २३ मंसिर ।
धनुषाको सहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाको आफ्नो पार्टी नेकपा माओवादी केन्द्रमा प्रभाव र पहुँच विस्तार हुँदै गएको छ ।
मूलधारको राजनीतिमार्फत कान्छै उमेरमा मेयरमा निर्वाचित भई जनतामाझ आफ्नो पकड मजबुत बनाएका बरबरियाले पार्टी संगठन सुदृढीकरण र विस्तारका साथै पार्टी नीतिअनुरूप नेताकार्यकर्ताहरूलाई सैद्धान्तिक, वैचारिक र राजनीतिक रूपमा प्रशिक्षित तुल्याउने काममा समेत अग्रसरता लिइरहेका छन् ।
पार्टीले उनको सक्रियता, भूमिका र योगदानको कदर गर्दै केन्द्रीय स्थानीय तह विभागमा मनोनित गरेको छ । उर्मिला अर्याल प्रमुख रहेको पार्टीको ३१ सदस्यीय स्थानीय तह विभागमा मेयर बरबरिया पाँचौं वरीयताका सदस्यमा मनोनित भएका हुन् ।
मेयर बरबरिया पार्टीको प्रदेश २ कमिटी सदस्य पनि छन् ।
प्रशोधक डटकमसँगको कुराकानीमा मेयर बरबरियाले पार्टी स्थानीय तह विभागमा मनोनित भएपछि आफू उत्साहित र जिम्मेवारी थपिएको बोध भएको बताए ।
उनले स्थानीय तहमार्फत रूपान्तरणको सम्भावना सर्वाधिक रहेको भन्दै पार्टीका लागि यो तह रणनीतिक र कार्यनीतिक महत्वका भएकाले यहाँ काम गर्ने प्रशस्त अवसर रहेको समेत औंल्याए । उनले भने, ‘स्थानीय तह विभागका सदस्यका रूपमा म यो अवसरलाई सदुपयोग गर्नेछु ।’
