किशन साह
जनकपुरधाम, १७ कात्तिक ।
जनकपुरधाम उपमहानगरपालिकाले नालाको फोहोरबाट जैविक मल बनाउने परियोजना आरम्भ गर्ने गृहकार्य गरिरहेको छ ।
उपमहानगरपालिका क्षेत्रमा ठाउँठाउँमा नाला भए पनि निकास नहुने, फोहोर थुप्रिएर अवरुद्ध हुने र वातावरणलाई दुर्घन्धित बनाउने समस्या पनि समाधान हुने तथा खेतीकिसानी गर्नेहरूलाई उर्वरक माटो पनि प्राप्त हुने उद्देश्यले परियोजना कार्यान्वयनको गृहकार्य थालिएको मेयर लालकिशोर साहले बताए ।
उनले भने, ‘नयाँ सडकसँगै निर्माण गरिएका भूमिगत नालामा फोहोर थुप्रिने समस्या खासै छैन, तर पुराना संरचनाका नालामा यस्तो समस्या भने ठाउँठाउँमा छन् । नालामै गएर फोहोर मिल्काउने हाम्रो व्यवहारका कारण नाला जाम हुने समस्या छ ।’
उनले बेलाबेलामा उपमहानगरपालिकाका सफाइकर्मीहरूले जाम नाला खुलाउन काम गरे पनि नालाको फोहोरबाट उपलब्धि लिने गरी स्थायी प्रबन्धन गर्न नयाँ परियोजनाबारे गृहकार्य भइरहेको प्रस्ट पारे ।
नालासम्म पुग्ने घरको फोहोरमा खानेकुरा, तरकारी, फलफूलसँगै स्नानघरबाट बग्ने साबुन र स्याम्पुहरू समेत मिसिएका हुन्छन् । जसलाई छुट्याएर सड्ने र गल्ने चिजलाई एक ठाउँमा राखी खेतमा प्रयोग गर्न सकियो भने बालीनालीका लागि निकै उर्वरक हुने निष्कर्षका आधारमा नालाको फोहोरबाट मल बनाउने परियोजना अघि बढाउन लागिएको हो ।
प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता ललनकुमार सिँहका अनुसार नालाको फोहोरबाट शतप्रतिशत प्रयोग गर्न सकिने खाद बनाउन मिल्ने बताए ।
उनका अनुसार बालीलाई चाहिने मुख्य पोषक तत्वहरू नाइट्रोजन, फस्फोरस र पोटास तथा अन्य पोषक तत्व कार्बनसँगै जिंक, आयरन, म्यानेसियमजस्ता थप सुक्ष्म पोषक तत्वहरू नालाको फोहोरमा रहने गर्छ । साथै नालामा ती तत्व भएका सामग्रीलाई सडाउने र गलाउने दुईथरीका जीवाणु हुन्छन् । एउटा फाइदाकारक र अर्को हानीकारक ।
हानीकारक जीवाणुलाई छुट्याएर फाइदाकारक जीवाणुसहितको पोषक तत्व भएको फोहोरबाट खाद बनाउन सकिन्छ । फोहोरलाई सुकाएपछि मिथेन र अमोनियालगायतका ग्यास पनि निस्कने तथा हानीकारक जीवाणु नष्ट हुने हुँदा फोहोर उर्वरक मलमा परिणत हुने प्रवक्ता सिँहको भनाइ छ ।
अहिले बजारमा उपलब्ध जैविक वा प्राङ्गारिक मलको उत्पादन खर्च बढी भएको, प्रविधि तथा जनशक्ति आयात गर्नुपर्ने स्थितिमा नालाको फोहोरबाट मल बनाउने काम कम खर्चमा र उपयुक्त हुने प्रवक्ता सिँहले बताए ।
बजारमा उपलब्ध जैविक वा प्राङ्गारिक मलले माटाको संरचना े बिग्रन नदिए पनि बालीनालीका लागि तीभन्दा बढी पोषक तत्व राम्ररी सुकाइएको नालाको फोहोरमा रहने विज्ञहरूको कथन छ ।
प्रवक्ता सिँहले नालाको फोहोरलाई सेतो प्लास्टिकमा बेरेर सुकाउँदा घाँसपात उम्रिने र राम्ररी सुक्ने पनि जानकारी दिए ।
