प्रशोधक
जनकपुरधाम, १३ मंसिर ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा उच्च पद प्राप्त गर्न वा प्रधानमन्त्री बन्नका लागि आफूले काँग्रेस सभापति पदमा दाबेदारी नगरेको बताएका छन् ।
एउटा सञ्चारमाध्यमसँग कुरा गर्दै उनले बहुलवादमा आधारित लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने काँग्रेसलाई सत्तामा ल्याउने लक्ष्यअनुरूप पार्टी नेतृत्व गर्ने आफ्नो इच्छा रहेको उपसभापति निधिले स्पस्ट पारे । नेता निधिले सत्तालाई ड्राइभिङ सिटको संज्ञा दिँदै काँग्रेस ड्राइभिङ सिटमा आउनुपर्ने आफ्नो चाहना रहेको उल्लेख गरे ।
उनले काँग्रेसले देशमा ल्याएको परिवर्तनमा कम्युनिस्टहरूले विश्वास नगर्ने भन्दै बहुलवादमा अविश्वास गर्नेले लोकतन्त्रमा विश्वास नगर्ने र लोकतन्त्रमा अविश्वास गर्नेलाई संघीयताप्रति विश्वास नहुने औंल्याए । उनको भनाइ थियो, ‘कम्युनिस्टहरूले बहुलवाद, लोकतन्त्र र संघीयताप्रति विश्वास नगर्ने कुरालाई अघिल्लो सरकारले पुष्टि गरिसकेको छ ।’
नेता निधिले अहिलेको परिवर्तित शासन प्रणालीमा कम्युनिस्ट शक्तिहरू सहयोगी मात्र भएको भन्दै नेतृत्वकर्ता कांग्रेस नै भएको ठोकुवा गरे ।
उनले सैद्धान्तिक र वैचारिक पक्ष र मूल्य–मान्यतामा विश्वास राख्ने पार्टी कांग्रेस नै भएको दाबीसमेत गरे ।
