प्रशोधक
जनकपुरधाम, १४ मंसिर ।
मंसिर ९ गते सम्पन्न जनगणणामा मैथिलीभाषीको सँख्या घटाउन जातिवादी राजनीति गर्ने नेता, केही जातिवादी संस्था, कबिरपन्थी संस्था, कथित मगही र बज्जिका अभियन्ताका निर्देशनमा ठूलो सँख्यामा गणकहरूले फट्याइँ गरेको भन्दै धनुषाका आठवटा संस्थाले मैथिलीभाषी जिल्लाको तथ्यांक छानबिन गरी दोषीमाथि कारबाही गर्न केन्द्रीय तथ्यांक विभागको ध्यानाकृष्ट गराएका छन् ।
मंगलबार जिल्ला तथ्यांक कार्यालय धनुषाका प्रमुख विमलकुमार यादवमार्फत् केन्द्रीय तथ्यांक विभागमा पठाइएको पत्रमा सुपरीवेक्षक र गणकहरू सबैका घरमा तथ्यांक संकलन गर्न नगएका, पेनका सट्टा सिसाकलमले फारम भरेका, फारमका सट्टा सादा कागजसमेत प्रयोग गरेका, कतिपय व्यक्तिसँग धर्म र मातृभाषासम्बन्धी प्रश्न नसोधेका, उत्तरदाताले भनेका धर्म र मातृभाषाका सट्टा अर्कै धर्म र मातृभाषा लेखेका जस्ता गडबडी विभिन्न जिल्ला र पालिकामा देखिएको उल्लेख छ ।
ती संस्थाहरूले मैथिली भाषालाई मगही र बज्जिका भनी मिथ्यांक तथ्यांक कार्यालयमा पठाइएको विभिन्न घटना र प्रमाणबाट पुष्टि भएको हुँदा गलत मनसायले फारम भरेका सुपरीवेक्षक र गणकमाथि कारबाही गर्न माग गरेका छन् ।
गडबड भएका क्षेत्रमा जनगणणाको अर्को टोली खटाउन समेत ती संस्थाहरूले आग्रह गरेका छन् ।
पत्रमा मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललन, मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिक, रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साह, मैथिली विकास कोषका सदस्यसचिव श्यामसुन्दर शशि, श्रीराम युवा कमिटीक निवर्तमान अध्यक्ष शम्भूप्रसाद प्रेमी, गणेश युवा कमिटीका अध्यक्ष सन्तोषकुमार महतो, महावीर युवा कमिटीका अध्यक्ष बलराम साह आ रङ्गवाटिकाका अध्यक्ष उपेन्द्र भगत नागवंशीले हस्ताक्षर गरेका छन् ।
