अहिलेका


म सप्तरीको छोरो, इमान्दारी र निष्ठापूर्वक मातृभूमिको गौरव बढाउँछु : शैलेन्द्रप्रसाद साह

जयराम थापा
राजविराज, मंसिर १ गते ।
सप्तरी क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्य पदका प्रत्याशी शैलेन्द्रप्रसाद साहले बिहीबार एउटा विज्ञप्ति प्रकाशित गरी क्षेत्रका मतदातासँग अत्यन्त भावुक अपिल गरेका छन् ।

उनले प्रदेशसभा सदस्य पदका लागि मत माग्ने क्रममा मतदाताबाट प्राप्त स्नेह र आशीर्वादका लागि जनसमुदायप्रति श्रद्धा आ सम्मान व्यक्त गर्दै आरम्भ गरिएको अपिलमा जनताका वात्सल्य, ममता आ भ्रातृत्व भाव सही अर्थमा आफ्ना लागि प्रेम आ करुणा भएको बताएका छन् ।
सप्तरी जिल्लालाई क्रान्तिभूमिको संज्ञा दिँदै मधेस प्रदेश सरकारका अर्थमन्त्री समेत रहेका साहले आफूले अघिल्ला निर्वाचनमा जितेपछिका दिनमा जनप्रतिनिधिका रूपमा मातृभूमिको गरिमा बढाउने काम गरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘सहिदहरूका बलिदानी र अनेकौं आन्दोलन तथा जनविद्रोहका स्रष्टा र द्रष्टा सप्तरीको यो पावन भूमिका जनप्रतिनिधिका रूपमा मैले आफ्नो मातृभूमिको गौरव तथा गरिमा बढाउने अनन्त प्रयास गरेँ । जसको साक्षी तपाईंहरू पनि हुनुहुन्छ ।’

सप्तरी क्षेत्र नम्बर २ को क का प्रत्याशी साह यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
उनले अपिलमा प्रदेशसभा सदस्यदेखि प्रदेश सरकारका मन्त्रीसम्मका यात्रामा आफ्ना लागि सबैभन्दा बढी महत्वका विषय आफ्नो गाउँठाउँ र क्षेत्रवासीसँगै नै रहनुभएको बताए ।

उनले प्रदेश एउटा नयाँ संरचना र नयाँ अभ्यास भएको भन्दै कम साधनस्रोत र न्युन कर्मचारीका भरमा विकासका योजनालाई व्यवहारमा उतार्न चुनौतीपूर्ण भएको पनि प्रस्ट्याए । उनले मधेसका जनता आफ्नो भूगोलमा आफैंले शासन गरेको र प्रदेश सरकार मजबुत भएको हेर्न केन्द्र सरकारले कहिल्यै नचाहेको आरोप लगाउँदै त्यसकारणले प्रदेश सरकारलाई कार्यकालभरि अप्ठ्यारा र हैरानी व्योहोर्नुपरेको बताए ।

उनले भने, ‘त्यसका बाबजुद पनि हामी लडेर भिडेर विभिन्न कामकाजलाई अघि बढायौं । र, धेरै काम हुने आधार आज तय भएको छ ।’

प्रत्याशी साहले प्रादेशिक संरचनालाई स्वायत्त र स्वशासित बनाउने चुनौती अझै रहेको थप्दै लोकतन्त्र र संघीयतालाई सुदृढ एवम् संस्थागत गर्दै मधेसी, आदिवासी, जनजाति, दलितलगायत सीमान्तकृत वर्ग र समुदायलाई मजबुत बनाउने लडाइ बाँकी नै रहेको बताए ।

उनले भने, ‘हामी सडक आ संसद् दुवै मोर्चामा यसका लागि संघर्ष गर्दैआएका छौं । । संसद्मा यस लडाइलाई अझै सशक्त र परिणाममुखी बनाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको बढीभन्दा बढी प्रतिनिधित्व आवश्यक छ । यसका लागि तपाईंहरूका अमूल्य मत आवश्यक छ ।

मतदानको पूर्वसँध्या अर्थात् मौन अवधि सुरु हुनुपूर्व उनले गरेको अपिलमा शिक्षा, स्वास्थ्य, सडक लगायत पूर्वाधार विकास, कृषि, सिँचाइ, रोजगार, व्यापार व्यससाय, जीविकोपार्जन, सामाजिक सुरक्षासँग जोडिएका धेरै समस्या यथावत् भए पनि तिनका समाधानका क्रमिक प्रयास भइरहेको जानकारी दिए । उनले ती क्षेत्रमा भएका प्रयासका कारण क्षेत्रको तस्बिर बदलिएको दाबी गरे ।

मन्त्री साहले क्षेत्र र जिल्ला विकासका लागि सदैव इमान्दारी आ निष्ठापूर्वक काम गर्ने बताए । उनले जनतालाई असन्तुष्ट हुने कुनै काम नगरेको र कुनै कमीकमजोरी र त्रुटिबाट टाढा रहने पहिले पनि प्रयास गरेको तथा अबउपरान्त पनि त्यस विषयमा थप सतर्कता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।

सप्तरी २ को क बाट प्रदेशसभा सदस्य पदका प्रत्याशी जसपा नेपालका नेता साहले आफूलाई आफ्नै गाउँघर राम्रो लाग्ने हुँदा चुनाव जितेपछि आफू गाउँ फर्केर आउनेभन्दा गाउँ र यहाँका जनतासँगै हुने प्रस्ट्याए । उनले भने, ‘छाता छापमा मतदान गरेर हामीहरूको राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक रूपान्तरण प्रयासमा सहयोग गरिदिनुस् ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!