अहिलेका


यमपञ्चकका बिच हनुमान जयन्ती

जनकपुरधाम, १७ कात्तिक ।

हिन्दु धर्माबलम्बीहरु यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाई रहँदा जनकपुरधाममा हनुमान जयन्तीको पनि रौनकता देखिएको छ । हनुमान जयन्ती साधु सन्त तथा भगवान हनुमानको पूजा तथा अराधना गरी हनुमान जयन्ती मनाइएको छ ।
हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन

किर्तन लगायतको कार्यक्रमको आयोजना गरेको छ । यस अघि परिषदले हनुमान जयन्तीको अवसरमा जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शोभा यात्रा निकाली नगर परिक्रमा समेत गरेको थियो ।
परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धमाबलम्बीहरु पर्व यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकोले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए । उनका अनुसार विगत १० वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आई रहेका छन ।
यता जनकपुरधामस्थित संकटमोचन मन्दिरमा समेत श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइचो लागेको छ ।
भगवान हनुमानको पूजा अर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भुतप्रेत पिसाचको दुःख नहुने जनविश्वास रहेको छ ।
हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह हट्ने विश्वास रहँदै आएको छ । त्यसैले मंगलबार र शनिबार हनुमान व्रत गर्नेहरुको संख्या पनि धेरै रहेको छ ।
चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमान जयन्तीको रुपमा व्याख्या गरिएपनि कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथीलाई हनुमान जयन्तीकै रुपमा लिइने गरिन्छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।


विभिन्न समयमा परिस्थितिको माग अनुरुप भगवानका अनेक रुपहरुको जन्म पृथ्वीमा भए सँगै धेरै उद्देश्य पूरा गर्ने प्रयोजन अनुसार भगबान शंकर हनुमान अवतार लिए । माता अञ्जनिको कठोर तपस्याबाट प्रसन्न भई वर माग्न भन्दा भगवान शंकरलाई नै आफ्नो पुत्रको रूपमा पाउने इच्छा जाहेर गरेपछि हनुमान रुपमा अवतरित भएका थिए ।
फरक फरक बार पूजा विधि र सामाग्री ले फरक फरक मनोबाञ्चित फल प्राप्त गर्न सकिने जनविश्वास रहि आएको छ । हनुमानलाई श्रद्धालु भक्तजन सिन्दुर, लड्डु, पान, केरा, रातो चोला, झण्डा अर्पण गर्दा नीकै प्रसन्न हुन्छन् । मानिसको जीवनमा आइपर्ने विभिन्न समस्याहरू समाधान गर्नका लागी तथा शनिदेव को कृपा प्राप्त गर्नका लागि पनि हनुमानको आराधना गर्नु नीकै फलदायी हुन्छ पण्डित दिगम्बर झा दिनमणिले बताए ।
अष्ट चिरञ्जिवि मध्ये एक मानिने उनी अझै पनि जीवितै छन् भन्ने आस्था राख्दै उनको जन्म दिनमा रामायणको सुन्दर काण्ड तथा हनुमान चालिसाको पाठ गर्ने गरिन्छ । भगवान हनुमानलाई ११औँ रुद्रावतारको रुपमा लिइन्छ ।
रामायणमा भगवान हनुमानको बल बुद्धिको विशेष रुपमा चर्चा गरिएको पाइन्छ । सीताहरण पश्चात समुद्र लंघन गरेर उनले नै सीता समक्ष भगवान रामको सन्देश पुर्याएका थिए । त्यस्तै सोनाले बनेको रावणको लंका भगवान हनुमानले नै जलाएको वाल्मिकी रामायणमा उल्लेख छ ।
भगवान हनुमानलाई सिन्दु अति प्रिय रहेको बताइन्छ । हनुमानको मूर्तिमा अनिवार्य रुपमा सिन्दूर लगाइएको हुन्छ । वाल्मिकी रामायणका अनुसार माता सीतालाई सिन्दूर लगाएको देखेर एकदिन हनुमानले जिज्ञासा राखे, तपाई यो सिन्दु किन लगाउनु हुन्छ ? त्यसपछि माता सीताले हनुमानले सिन्दुर लगाउँदा भगवान राम प्रसन्न हुन्छन् भन्ने जवाफ फर्काए । त्यपछि हनुमानले भगवान रामलाई प्रश्न पार्न पूरै शरिरमा सिन्दुर लेपन गरेका थिए । त्यसपछि मात्रै भगवान रामले हनुमानलाई अमरताको वरदान दिएका थिए ।
वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ । उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिसाची शक्तिबाट, राक्षसी शक्तिको प्रकोपबाट मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वैष्णव सम्प्रदायका समर्थकहरूको रहेको छ । हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन । विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नका लागि हनुमानको पूजा गरिन्छ । हनुमानलाई भक्तियोगका लागि महत्त्वपूर्ण मानिन्छ । उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामिप्यता प्राप्त गरेका थिए । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!