जनकपुरधाम, ३० असोज ।
सत्तारुढ जनता समाजवादी पार्टी नेपाल अहिले निकै आक्रामाक देखिएका छन् ।
जसपाबाट विभाजित भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल अहिले प्रदेश २ मा प्रमुख प्रतिपक्षीको भुमिकामा कम्मर कसेर लागिरहेको छ भने अर्को तर्फ संगठन विस्तार तर्फ पनि निकै मिहनेत गरिरेको छ । दसैँको अवसरमा समेत कार्यकर्ता भेटघाट देखि जनस्तरसम्म संगठन निर्माण र भटघाटलाई तिव्रता दिएका छन् ।
तर जसपाका नेताहरुले भने लोसपाको सवालमा अहिले देखि नै टिकाटिप्पणी गर्न थालेका छन् । जसपाबाट विभाजित पश्चात निकै कमजोर अवस्था देखिएको लोसपा आउने निर्वाचनसम्ममा लोप हुनेसम्मको जसपाका नेताहरु बताउँछन् ।
महन्त ठाकुरको खेमा छाडेर जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य समेत रहेका नेता मनिष सुमनले लोसपा नेपालको संगठन कमजोर रहेको भन्दै आउने निर्वाचनमा लोप हुने चेतावनी दिएका छन् ।
उनले भने– अहिले फाटफुट रुपमा केही नेता तथा कार्यकर्ताहरु देखिन्छन्, ती नेता तथा कार्यकर्ताहरु एउटा चुनावसम्म लोसपामा रहन्छन् जब चुनावमा लोसपाको बुराहाल हुन्छ अनि ती नेता तथा कार्यकर्ताहरु पनि जसपामा फर्किन्छन् हेर्नुहोला ।
उनले सिरहा र सप्तरीलगायत प्रदेश २ का अधिकांश जिल्लामा लोसपाको अवस्था निकै कमजोर रहेको बताउँदै प्रदेश सांसद मनिष सुमनले भने– आफू दशैंमा सप्तरी आएपछि आफ्नो क्षेत्रलगायत अन्य क्षेत्रहरुमा पनि घुमफिर गरेको, जनताको मनको कुरा बुझ्ने प्रयास गरेको भन्दै नेता सुमनले अघि थप्दैँ भने, जसपा विभाजनप्रति जनता दुखि अवश्य छ तर विभाजनका मुख्य भिलेनप्रति आक्रोशित समेत रहेका छन् । अरु ठाउँको कुरा अहिले म भन्दिन तर सप्तरीमा म जहाँ जहाँ गए, जो जोलाई भेटे ती सबैले जसपा विभाजनका मुख्य दोषी लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई देखिाइरहेको छ, उहाँहरुको कारणले नै जसपा विभाजन भएको हो ।’
महन्थ ठाकुरभन्दा पनि राजेन्द्र महतोप्रति सप्तरीका जनता बढी आक्रोशित रहेको दावी गर्दै नेता सुमनले मधेशलाई पटक पटक घोचपेच गरेका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिनु नै महन्थ ठाकुर र राजेन्द्र महतोको सबभन्दा ठूलो कमजोरी थियो, ओली यस्ता पात्र हुन् जसले दुईपटक संसद विघटन गर्नुभएको थियो र त्यस्ता व्यक्तिलाई साथ दिनु नै महन्थ ठाकुर र राजेन्द्र महतोका लागि सबभन्दा ठूलो भूल थियो । एमालेका अध्यक्ष ओलीलाई साथ दिनुपर्छ भनि सबभन्दा बल गर्ने व्यक्ति राजेन्द्र महतो रहेको कुरा समेत जनताको बुझाइ रहेको नेता सुमनले बताए ।
संविधान संशोधनका लागि भएको आन्दोलनताका नै वरिष्ठ नेता राजेन्द्र महतो र अध्यक्ष ओलीबीच दोस्ती भएको थियो । आन्दोलन छाडेर पटक पटक लुकीलुकी काठमाडौँ गएर ओलीलाई भेटेको कुरा समाचारमा आएको थियो, त्यसलाई समेत सप्तरीका जनताले स्मरण गरेको उल्लेख गर्दै नेता सुमनले प्रतिनिधिसभा चुनावमा अध्यक्ष ओलीले नेता महतोलाई सहयोग गरेको कुराले पनि त्यो पुष्टि भएको जनताले स्मरण गरेको बताए ।
त्यही सम्बन्धलाई निरन्तरता दिँदै महतोले ओलीलाई भित्रभित्रै सहयोग गर्दै आइरहनु भएको थियो, तत्कालिन राजपा हुँदा पनि महतोले पटक पटक ओलीसँग कुरा गरेर सरकारमा जाने प्रयास गर्नुभएको थियो, पछि जसपा बन्दा पनि उहाँको त्यो प्रयासले निरन्तरता पाउनु भएको थियो र उहाँले महन्थ ठाकुरलाई समेत बालुवाटारसम्म लग्नु भएको थियो त्यसकै नतिजा हो जसपाको विभाजन ।
तराई मधेशमा अहिले जसपाको गतिविधिले तीब्रता लिएको बताउँदै उनले काठमाडौँमा अहिले जसरी काँग्रेसको कुरा भइरहेको छ त्यस्तो चर्चा तराई मधेशमा नरहेको उनले दावी गरे । यसपाली काँग्रेसले दुई तिहाई बहुमत ल्याउँछ, सबभन्दा ठूलो पार्टी बन्छ भनि जुन चर्चा छ, त्यसको कुनै प्रभाव तराई मधेशमा नपरेको उनको दावी छ ।
केन्द्रमा अहिले काँग्रेसले सरकारको नेतृत्व गरिरहेको छ, तर तराई मधेशमा जसपाकै चर्चा रहेको नेता सुमनको भनाई छ । जसपासँगै लोसपाको पनि चर्चा हुन्छ, उनले भने– भर्खर जसपा विभाजन भएको छ, विभाजनको चर्चा हुँदा त्यसमा लोसपाको पनि चर्चा हुन्छ तर लोसपाको आवस्था निराशाजनक छ ।’ चुनावमा जसपा र लोसपाको अवस्था कस्तो हुन्छ भनि जिज्ञासामा नेता सुमनले चुनावमा लोसपासँग कुनै प्रतिस्पर्धा नै हुँदैन, लोसपा र जसपामा धैरैको अन्तर छ, जसपाभन्दा लोसपा धेरै पछाडी परेको प्रतिकृया दिए ।
गाउँघर तथा चौकमा घुम्दा एउटा अर्को कुरा पनि थाह पाएको उनले बताए । अहिले संघीय तथा प्रदेश सांसदभन्दा स्थानीय तहको अध्यक्ष, उपाध्यक्षलगायत अन्य पदाधिकारीमा चुनाव लड्नेको बढी चर्चा हुने गरेको छ ।
जसले पनि स्थानीय तहमा चुनाव लड्ने भनिरहेका छन् । संघीय सांसद र प्रदेश सांसदप्रति त्यति रुची देखाइरहेको छैन, जो यसअघि संघ र प्रदेशमा चुनाव लडेका थिए ती व्यक्तिहरुले पनि स्थानीय तहप्रति नजर जमाएर बसेको नेता सुमनले बताए ।
