अहिलेका


रमण कन्सट्रक्सनका ‘मालिक’ महतो जनकपुरधामको मेयर लड्ने

प्रशोधक समाचारदाता/जनकपुरधाम, २६ चैत ।
निर्माण व्यवसायी बलराम महतोले स्वतन्त्र उम्मेदवारका रूपमा जनकपुरधाम उपमहानगर प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केही समययता जनकपुरधामका विभिन्न धार्मिक, साँस्कृतिक र सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएका महतो रमण कन्सट्रक्सनसँग आबद्ध छन् ।

रमण कन्सट्रक्सनले पछिल्लोपटक जयनगर–जनकपुर रेल्वे लाइनको निर्माण, जनकपुर नगर परिसरको ढद तथा बर्खाका पानीको व्यवस्थापन तथा सडक स्तरोन्नति, स्थानीय सडकको स्तरोन्नति, कमला नदी नियन्त्रण तटबन्धको निर्माण र जमुनी कटाह सिँचाइ आयोजना निर्माण आदि काम गरेको छ ।

शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत महतोले आसन्न स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगर प्रमुखको उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा महततोले देश्व्यापी रूपमा सफल निर्माण व्यवसायीको आफ्नो परिचयलाई जनकपुरधाम नगरीको इमान्दार, निर्भिक, मिलनसार, कर्मठ, लोकप्रिय र विकासप्रेमी समाजसेवकका रूपमा प्रतिस्थापन गर्न जनकपुरधामको मेयरमा चुनाव लड्ने बताए ।

उनले जनकपुरधामक्षेत्रलाई विकसित गरी सहरको ऐतिहासिक छवि कायम राख्दै नमुना सहरका रूपमा स्थापित गर्ने आफ्नो उद्देश्य रहेको उल्लेख गरे ।

पूर्वाधार विकाससँग सम्बन्धित पेसागत अनुभव, प्रशासनिक कार्यको अनुभव, नगरवासीको समर्थन, साथ, सहयोग र सुझाव तथा आशीर्वादबाट नगरवासीको मन जितेर हाल प्रदूषित नगरीको उपनामबाट चर्चामा रहेको जनकपुरधामजस्तो पवित्र नगरीलाई स्वच्छ, सफा, हराभरा, ऐतिहासिक एवम् धार्मिक पर्यटकीय नगरीका रूपमा आफ्नो उम्मेदवारीको उद्देश्य र लक्ष्य रहेको उनले जिकिर गरे ।

शनिबार जनकपुरधाम उपहानगर प्रमुखको उम्मेदवारी घोषणा गर्दै निर्माण व्यवसायी बलराम महतो ।

उनले राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि चुनाव जितेपछि क्षेत्रको विकासभन्दा पनि आफ्नो व्यक्तिगत राजनीतिक छविलाई कसरी बढाउने, पार्टीगत स्वार्थलाई कसरी पुरा गर्नेतर्फ केन्द्रित हुने र स्थानीयका आवश्यकता एवम् चाहनाभन्दा पनि पार्टीका आवश्यकता, चाहना र दबाबअनुसार कामकारबाही गर्ने हुँदा विकासको गति सुस्त तथा ठप्प भएको बताए ।

निर्माण व्यवसायी बलराम महतोको जनकपुरधाम उपहानगर प्रमुखको उम्मेदवारी घोषणासभामा समाचार संकलन गर्दै सञ्चारकर्मी ।

महतोले राजनीतिक दलबाट चुनाव जितेका प्रतिनिधिहरूले स्थानीय तहलाई विकासका लागि भन्दा पनि राजनीतिक अखाडाका रूपमा प्रयोग गरेको र राजनीतिलाई सेवाभन्दा पनि पेसाका रूपमा उपयोग गरेकाले आफूले पार्टीका नेता होइन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौं भन्ने नाराका साथ उम्मेदवारी घोषणा गरेको उल्लेख गरे ।

उनले विभिन्न राजनीतिक परिवर्तनका बाबजुद पनि जनकपुरको मुहार नफेरिएको दाबी गरे ।

को हुन् महतो ?

धनुषाको रघुनाथपुरमा जन्मिएका महतो चितवनको रामपुरबाट अध्ययन सकाएर भरतपुर सिँचाइ आयोजनामा करिब १७ वर्ष काम गरेका छन् । २०४७ सालमा रमण कन्सट्रक्सन स्थापना गरेका उनले त्यसयता लगातार निर्माण व्यवसायीका रूपमा काम गरिरहेका छन् ।

उम्मेदवारी घोषणासम्बन्धी पाँच पानाको विज्ञप्तिमा उनले परिचय, उम्मेदवारीका उद्देश्य, जनकपुरधामका समस्या, जनकपुरधाम विकासका लागि गरेका योगदान, पेसागत योगदान, व्यक्तिगत योगदान, जनकपुरधामका लागि गर्न खोजेका कार्य, अपेक्षा, उम्मेदवारका रूपमा आफ्ना योग्यताबारे उल्लेख गरेका छन् ।

महतोले आफ्नो निर्माण कम्पनी कानुनी रूपमै पारिवारिक सदस्यलाई हस्तान्तरण गरिसकेको जानकारी दिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!