राजविराज, १९ कात्तिक ।
प्रदेशसभा २ का सदस्य विशेश्वरप्रसाद (बिक्की) यादवले देशमा राजनीतिको दिशा र संस्कृति नफेरिएको छैन र शासनशैलीमा परिवर्तन नआएको गुनासो गरेका छन् ।
उनले नेपालको राष्ट्रिय राजनीतिमा पटकपटक आन्दोलन र क्रान्तिको अनुभव भएको सुनाए ।
सप्तरीमा आयोजित एक कार्यक्रममा उनले नेपालको अनुभवमा क्रान्ति जसरी भए पनि छिटो सत्तामा पुगेर अथाह धन कमाउने, पार्टीलाई राजनीतिक उद्योगमा रूपान्तरण गरेर आफना छोराछोरी, नातेदार र नजिककाहरूलाई त्यसको सेयरहोल्डर बनाउनमै सीमित भएको जिकिर गरे ।
देश शासकीय व्यवस्थाको प्रयोगशाला भएको भन्दै उनले त्यसको उदाहरण छ दशकमा छैटौं संविधानको अभ्यास सुरु गरेको दुई वर्ष पनि नबित्दै फास्ट ट्रयाकबाट संविधान घोषणा गराउने, दुईतिहाइको धाक लगाउने नेताहरू स्वयं संसदीय व्यवस्थालाई कार्यकारी राष्ट्रिपतीय शासनबाट विस्थापित गर्नुपर्ने नारा दिन थाल्नुरहेको उल्लेख गरे ।
