जनकपुरधाम, २६ कात्तिक ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको वैठकमा दुई विकल्प अघि सारेका छन् ।
पहिलो विकल्पमा उनले इतर समूहबाट पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको दावी प्रस्तुत गर्ने नेताहरु आपसमा मिले आफू सहयोग गर्न तयार रहेको बताएका छन् । तर दाबेदारहरु आपसमा नमिले भने आफू अघि बढ्ने प्रस्ताव अघि सारेको वैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उनले वैठकको सुरुमै पौडेलले महाधिवेशनमा इतर पक्ष मिलेर जानुको विकल्प नरहेको भन्दै सभापतिको दाबेदारहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र कृष्ण सिटौला आपसमा मिल्नुपर्ने धारणा राखेका थिए । यी चार नेता आपसमा मिलेर साझा उम्मेदवार तयार गर्न सक्ने अवस्था बनेमा आफू नेतृत्वको दौडबाट पछि हटेर सहयोग गर्न तयार रहेको पौडेलको भनाइ थियो । तर ती चार नेता आपसमा नमिलेको अवस्थामा आफूले परिस्थिति सहज बनाएर आफै अघि बढ्ने उनले बताए ।
पौडेलको सो प्रस्तावमा अरु नेताहरुले केही जवाफ फर्काएनन् । यस्तै आजको बैठकमा सहभागी नहुने नेता प्रकाशमान सिंहको सन्दर्भमा पनि छलफल भएको थापाले बताए । बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
