अहिलेका


रामचन्द्र : द लिजेन्ड्री पर्सनालिटी

सामान्यतया एक अपूर्व वा अद्वितीय विशेषता वा कौशलताका परिणामस्वरूप कुनै व्यक्ति लिजेन्ड्री बन्ने गर्दछन् । कुनै पनि व्यक्ति रातारात लिजेन्ड्री बन्दैनन् । तिनीहरू समयसँगै बढ्छन्, आफूलाई अब्बल साबित गर्नका लागि चुनौतीहरूका बीचमा जरा गाड्छन् । जब तनावको स्तर उच्चतम बिन्दुमा हुन्छ, आत्मविश्वास उपरको शंका र असफलताको दर्शनको सामना गर्न सजिलो हुन सक्छ । यही नै एक लिजेन्ड्री मानवको प्रमुख विशेषता हो ।

 

बेचनकुमार महतो bechan.mahato@ymail.com 

म सरकारी सेवामा प्रवेश गरेको २४ वर्ष पुगिसकेको छ । यस अवधिमा मैले व्यवहार गर्नुपरेका मेरा हाकिमहरूमध्ये हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक एवम् प्रदेश नं. २, उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरधामका तत्कालीन (२०७७ भदौदेखि २०७८ भदौसम्म) सविच डा. रामचन्द्र कँडेलले आफूलाई लिजेन्ड्री पर्र्सनालिटीका रूपमा स्थापित गरेको मेरो अनुभूति छ । कारणहरू निम्नानुसार छन् :

१. लगनशीलता

एक उत्कृष्ट व्यक्तिका आवश्यक गुणमध्ये एउटा चुनौतीहरू पार गर्ने क्षमता हो । जीवनमा हुनलायक कुनै पनि कुराले मूर्त रूप लिन समय लिन्छ । कुनै पनि व्यक्ति सफल हुनका लागि आफू सामुन्नेका अवरोधहरू पार गर्न दृढ संकल्पित रहनु पर्दछ । एक महान व्यक्ति हुनुको एक विशिष्ट गुण भनेकै अरूले रोकेको ठाउँमा जाने इच्छा गर्नु हो । समस्याको पहिलो सङ्केतमा हार मान्न सजिलो लाग्न सक्छ । धेरैजसो मानिसहरूले गर्ने पनि त्यही नै हो तर लिजेन्ड्री व्यक्तिहरू समस्याको भुवँरीमा पस्दछन् ।

लगनशीलता भनेकै समस्याहरूको भुवँरीमा प्रवेश गर्ने निरन्तरको अदम्य साहस हो । यदि कुनै व्यक्तिले समूहको नेतृत्व गर्दछ भने उसले आफ्नो लक्ष्यहरू प्राप्त गर्नका लागि टोलीलाई प्रभावकारी रूपमा मार्गनिर्देशन गर्ने लगनशीलता प्रदर्शन गर्नु आवश्यक छ । कुनै पनि नेतृत्वले संगठनलाई अगाडि बढ्नबाट रोक्ने कठिनाइका सामना गरिरहेका हुन्छन् ।

सफल नेतृत्वको संकेत भनेकै सम्भावित समाधान खोज्ने र निर्णयहरूको कार्यान्वयन गर्ने हो । अतः यदि नेतृत्वसँग अवरोधहरूको सामना गर्दा दृढ रहन सक्ने क्षमता छैन भने संगठनले पीडा भोग्दछ तर निरन्तरको लगनशीलताले उपलब्धिको सम्भावना भने रहिरहन्छ । चाहे नियमित सार्वजनिक बिदा होस् या धार्मिक, साँस्कृतिक चाडपर्वका बिदा होस्, आफु र सम्वन्धित कर्मचारीहरूलाई नियमित रूपमा उनका लागि तोकिएका जिम्मेवारीबारे झक्झकाइरहने डा. कँडेलको पेसाप्रतिको निष्ठाले उहाँलाई लिजेन्ड्री क्यारेक्टरका रूपमा परिभाषित गर्न बाध्य तुल्याउँछ ।

प्रदेश २ को उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट स्थानान्तरण भएका नेपाल सरकारका सहसचिव डा.रामचन्द्र कँडेल(माला पहिरिएका)

२. इमानदारी

इमानदारीले पूर्ण र स्वतन्त्र जीवनको नेतृत्व गर्दछ । इमानदारी भनेको सत्य बोल्नु मात्र होइन । इमानदारीले खुलापनलाई बढावा दिन्छ, हामीलाई सशक्त बनाउँछ र हामीले तथ्यहरू कसरी प्रस्तुत गर्छौं भन्नेमा एकरूपता विकास गर्न सक्षम बनाउँछ । इमानदारीले हाम्रो धारणालाई तिखो बनाउँछ र हामीलाई हाम्रो वरपरका सबै कुरालाई स्पष्टताका साथ अवलोकन गर्न अनुमति दिन्छ ।

इमानदारी वा सत्यता भनेको नैतिक चरित्रको एउटा पक्ष हो जसले इमानदारी, सत्यता, सीधा, स्पष्ट आचरण एवं झुट, धोखाधडी, चोरी, इत्यादिको अनुपस्थिति जस्ता सकारात्मक र सद्गुणात्मक विशेषतालाई बुझाउँछ । इमानदारीमा विश्वासयोग्य, वफादार, निष्पक्ष हुनु पनि समावेश हुने गर्दछ ।

डा. रामचन्द्र कँडेल आफैंमा इमानदारीको परिचायक समेत रहेको कुरामा दुईमत छैन । तटस्थ आर्थिक आचरण, सादगीपूर्ण चारित्रिक प्रदर्शन, जिम्मेवारीमूलक सामाजिक भूमिका तथा व्यवहारिक लचकताजस्ता अनेकन् अव्ययहरूले उहाँउपरको विश्वासलाई झन् मजबुत बनाउने गर्दछ ।

सादा जीवन उच्च विचारका धनी डा. कँडेल सचिवका रूपमा प्रदेश २ मा कार्यरत रहँदा उहाँले समाजिक उत्तरदायित्वका लागी निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ नै । चाहे जनकपुरधाम वन प्राविधिक समाजको स्वच्छता तथा वृक्षरोपण अभियान होस्, चाहे दुधमती सफाइ एवं गंगासागर सफाइको अभियान होस्, चाहे होटल तथा पर्यटन व्यवसायीहरूसँगको सौहाद्रता होस् या मिथिला वाइल्डलाइफ ट्रस्टसँगको आर्थिक भाररहित सहकार्य होस् वा मिथिला पेन्टिङ्ग प्रवद्र्धनका लागि प्रचारप्रसारसम्बन्धी गतिविधि होस्, चाहे स्थानीय कला, सँस्कृति, इतिहासको जर्गेना तथा संरक्षणको लागि देखाउनुभएको ईमानदारीले उहाँलाई लिजेन्ड्री व्यक्तित्वका रूपमा परिभाषित गर्ने गर्दछ ।

३. उत्कृष्टता

सफल नेतृत्वले पूर्णता होइन, उत्कृष्टताको खोजी गर्छ । पूर्णता एक स्वार्थी धारणा हो जसमा आफु अरूभन्दा राम्रो हुनु पर्दछ भन्ने मान्यता रहेको छ । नवाचार खोजीकेन्द्रित यात्रा नै उत्कृष्टता हो ।

यो अद्वितीय विशेषता भएका व्यक्तिहरूले सधैं सिक्ने, बढ्ने र अझ राम्रो गर्ने अवसर देख्छन् । लिजेन्ड्री व्यक्ति कहिल्यै सन्तुष्ट हुँदैनन् तर निरन्तर सुधार र मूल्य प्रदान गर्ने तरिकाहरू खोजिरहन्छन् । प्रगतिका लागि निरन्तर धक्का दिई रहन्छन् ।

डा. रामचन्द्र कँडेलले सचिवका रूपमा प्रदेश २ मा कार्यरत रहँदा उहाँको निर्देशन तथा प्रत्यक्ष निगरानीमा सम्पन्न गरिएका कार्यक्रमहरू सर्वत्र प्रशंसनीय मात्र होइन, उत्कृष्ट नै छन् । मन्त्रालयमा नियमित रूपमा आउने सेवाग्राहीका सुविधा तथा मन्त्रालय परिसर सौन्दर्यीकरणका लागि निर्माण गरिएको यात्रु प्रतिक्षालयलगायतका अन्य संरचनाहरूले उहाँमा नवाचारको खोजीकेन्द्रित उत्कृष्टतालाई स्पष्ट पार्ने गर्दछ । अतः उहाँ एक लिजेन्ड्री क्यारेक्टर हो ।

४. निर्धक्कता

आत्मविश्वासबिना नेतृत्वको अस्तित्व रहँदैन । आत्मविश्वास नै नेतृत्व निर्माणको जग हो । कमजोर जगमा घर बनाउनाले अस्तव्यस्त संरचना निम्त्याउँछ । डराउनेहरू सधैं सुरक्षित विकल्प रोज्छन् भने आत्मविश्वासीहरूले आफूसँग भएको जानकारी प्रयोग गरी आवश्यक कारबाहीको प्रकिया अगाडि बढाउने गर्दछन् । कुनै पनि साहसी नेतृत्वले आफूलाई सुरक्षित मात्र राखिराख्ने निर्णयमा अल्झाउन चाहँदैनन् । निर्धक्क भई कानुनी वैधताका आधारमा निर्णय लिई कार्यान्वयनमा जाने गर्दछन् ।

मन्त्रालयका सचिव भई कार्यरत रहँदाका बखत डा. कँडेलको निर्धक्क कार्यशैलीे र पेसागत मर्यादाका लागि राख्ने गरेका चट्टानी अडानले उहाँलाई एक लौहपुरुषका रूपमा पनि लिने गरिएको छ ।

सुशासनका मापदण्डअनुसार कानुनी राज्यको अनुभूति हुने गरी कार्यसम्पादन, राजनीतिक परिवेशउपर तटस्थ रही वस्तुपरक योजना तर्जुमा प्रयास तथा परिणाममुखी कार्यान्वयका लागि आफू र मातहत निकायका पदाधिकारीमा बिनापूर्वाग्रह निर्धक्कताका साथ कार्य गर्ने वातावरण निर्माण हेतु उहाँको भूमिका स्मरणीय छ ।

५. महत्वाकांक्षा

व्यक्तिलाई दर्शनउन्मुख गराउने अस्त्र भनेकै व्यक्तिवादी महत्वाकांक्षा हो जसले मानिसमा लिजेन्ड्री चरित्रको विकास गर्दछ । महत्वाकांक्षी मानिसहरूले सपना मात्रै देख्दैनन् तिनीहरूले यसलाई पूरा पनि गर्दछन् ।

कर्नर अफिसको स्वामित्वका बारेमा दिवास्वप्न देख्नुको सट्टा दर्शनबाट प्रेरित व्यक्तिहरूले आफनो व्यावसायिक क्षमता विकास गर्न अरूलाई पनि आफ्नो टोलीमा सामेल गराई साझा वैचारिक धरातलमा रही प्रतिभा प्रदर्शनका लागि अरूलार्ई प्रेरित गर्ने गर्दछन् ।

धरातलीय रूपमा नेपाल वन सेवा, नेसनल पार्क एन्ड वाइल्ड लाइफ समूह तर्फका सह–सचिवका रूपमा पदाधिकार भई प्रदेश सचिवमा कार्यरत रहँदा डा. कँडेलको महत्वाकांक्षा भने समावेशी चरित्रको देखिन्छ । प्रादेशिक पर्यटन प्रवद्र्धनको पर्याप्त सम्भावना बोकेको प्रदेशका दुवै छेउ अवस्थित संरक्षित क्षेत्रको विकास गर्दै वन्यजन्तु तथा प्रकृति अवलोकन प्रयोजनार्थ पर्यापर्यटनको विकासका लागि उहाँ संरक्षित क्षेत्र तथा वन्यजन्तु संरक्षण एवं व्यवस्थापनका सबालमा अलि उदार नै हुनुहुन्छ ।

प्रदेशको टेरिटोरियल जिम्मेवारीमा नरहेता पनि निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापनलाई पर्यटन प्रवद्र्धनको साझा अवधारणाका रूपमा प्रस्तुत गरिरहने महत्वाकांक्षाले उहाँ विकासको समावेशी आदर्शबाट प्रेरित रहेको पुष्टि हुन्छ । अतः उहाँ एक लिजेन्ड्री पर्सनालिटी हो ।

६. प्रतिबद्धता

जब कुनै नेतृत्वले दर्शन सिर्जना गर्दछ तब उसले यसलाई प्राप्त गर्नका लागि पेसागत प्रतिबद्धताका साथ दीर्घकालीन र सक्रिय विधिका साथ लागू पनि गर्दछन् । यस्तो प्रभावशाली व्यक्तिले जे भए पनि सही काम गर्ने र यसका लागि कडा निर्णयहरू गर्ने आफ्नो कर्तव्य ठान्दछ ।

लिजेन्ड्री नेतृत्वले संगठनमा संलग्न व्यक्तिको व्यक्तिगत आकांक्षाभन्दा तथ्यपरक सांगठनिक अपेक्षाहरूलाई प्राथमिक्ता दिने गर्दछन् र सोहीअनुसार आफ्नो संगठनमा उच्चस्तरको व्यवहार कायम राख्नुपर्ने आत्मबोध पनि गर्दछन् । ठानी सकेको कार्य सम्पन्न गरी छाड्ने दृढ संकल्प र कार्यान्वयन चरणमा आफ्नो रणनितीक पथबाट कति पनि विचलित नभई आफ्नो गन्तव्यका लागि प्रतिबद्ध रहिरहने डा. कँडेलको पेसागत हठले सदैव सांगठनिक अपेक्षाहरूलाई प्राथमिक्ता दिने गरेको अनुभूति भएकै हो ।

कर्तव्यपालनका लागि व्यक्तिगत स्वार्थभन्दा सांगठनिक दर्शनका अनुयायी डा. कँडेल आफैंमा लिजेन्ड्री पर्सनालिटी रहेको बुझ्न सकिन्छ ।

७. नम्रता

एक सशक्त नेतृत्व हुनुको एक महत्वपूर्ण विशेषता बौद्धिक नम्रता हो । नम्रताबिना कुनै पनि व्यक्ति सिक्न अक्षम रहन्छ । नम्र नेतृत्वले सर्वोत्तम हितका लागि आफूले लिएका निर्णयहरू तथ्यमा आधारित छन् कि छैनन् भनी सुनिश्चित गर्न अरूबाट प्रतिक्रिया खोज्ने गर्दछन् ।

मानिसहरू उनीहरूलाई बेवास्ता गर्ने वा उपेक्षा गर्नेहरूभन्दा आफ्ना विचारलाई महत्व दिने नेतृत्वतर्फ आकर्षित हुन्छन् । नम्र स्वाभावका नेतृत्वसँग सकारात्मक सबालजबाफ गर्न सहज हुने हुँदा परिस्थिति अनुकूल निर्णय लिन सहयोग पुग्दछ । अतः जब कुनै व्यक्तिले यी व्यवहारहरू प्रदर्शन गर्छन् तब उनले आकर्षक भविष्यका चित्रण गरिरहेका हुन्छन् जसले सँगठनका अन्य सदस्यलाई काम गर्न प्रोत्साहित गर्दछ ।

मन्त्रालय र मातहतका कर्मचारीहरूलाई सदैव मुस्कानसहितको सेवाप्रवाह, सेवाग्राहीलाई नागरिकका रूपमा नम्र व्यवहार तथा नमिल्ने कार्यका लागि स्पष्ट नम्रता प्रदर्शन गर्नका लागि उत्प्रेरित गरिरहने डाक्टर साहबको आत्मबोधी मार्गदर्शनले उहाँलाई एक लिजेन्ड्री ब्युरोक्रेट्सका रूपमा चित्रण गर्न सकिन्छ ।

८. सद्भाव

कुनै पनि व्यक्तिउपरको बहुपक्षीय सम्मान तथा सद्भावले उनी कत्तिको लिजेन्ड्री रहेको भन्ने यर्थाथको चित्रण गर्दछ । आफ्नो मात्रै बखान र प्रशंसा सुन्न ललायित मपाइत्वमा रमाउने व्यक्तिले आमजनको सद्भाव भने कदापि पाउन सक्दैन ।

सदाचार र निष्ठाका प्रतीक डा. कँडेलको सरुवा बिदाइ कार्यक्रम करिब एक दर्जनभन्दा बढी संघसंस्थाहरूबाट गरिए । तिनमा देखिएका सद्भावपूर्ण उपस्थिति र भव्य बिदाइ सम्मानले उहाँउपरको सद्भाव भल्किन्छ र उहाँ एक लिजेन्ड्री पर्सनालिटी रहेको चित्रण गर्दछ ।

(लेखक प्रदेश २ को उद्योग, पर्यटन तथा वन मन्त्रालयका भूसंरक्षण अधिकृत हुन्)

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!