जनकपुरधाम, ५ मंसिर ।
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकामा पर्ने साबिक महेशपुरपतारीमा राजा हरिसिँह देवको मन्दिर छ । कर्नाटवंशीय प्रतापी राजा हरिसिँह मुगल आक्रान्ताबाट लखेटिएपछि यस ठाउँमा आएर शासन सञ्चालन गरेको इतिहास भएको यो ठाउँमा बर्सेनि वैशाख २ गते मेला लाग्ने गरेको छ ।
पतारी मेला नाउँले चिनिने यो मेलास्थलमा पतारी पोखरी छ । हरिसिँह देवको मन्दिर पोखरीको दक्षिणपट्टि डिलमा छ । उत्तरी डिलमा शिव, दुर्गा, हनुमान, लक्ष्मी, विश्वकर्मा आदिको मन्दिर छ ।
एउटा जनविश्वास छ, मेलाका बेला पोखरीनजिक धामी खेलेर अक्षता ग्रहण गरी पोखरीमा डुबुल्की लगाउँदा भेटिएका जीवजन्तु वा वस्तुको अंशको जन्तर लगाएपछि बाँझो महिला पनि गर्भवती हुने गर्छन् । यो विश्वासकै आधारमा हरेक वर्ष वैेशाख २ गते पाँच सयभन्दा बढी महिला यस ठाउँमा पूजाअर्चना गर्नुका साथै पोखरीमा पवित्र स्नान गर्ने क्रममा जन्तरका लागि माछा, सर्प, गंगटो, सितुवा, घोंघी, माटोजस्ता सामग्री सोहोरेर लग्ने गर्छन् ।
‘पहिलो डुबुल्कीमा जे पाए त्यही सामग्री महिलाले दुवै हातले सोहोर्छन् । भेटिएका जीव वा वस्तुको जन्तर बनाएर शरीरमा लगाउँछन् । यसो गर्दा निश्चित नै ती महिला गर्भवती हुन्छन्,’ लक्ष्मीपुरपतारी वडा नम्बर ५ का बासिन्दा एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला सदस्यबद्री यादवले भने, ‘पोखरीमा डुबुल्की लगाउँदा पनि केही भेटिएन भने महिलाको सन्तान प्राप्त गर्ने मनोकांक्षा पूरा हुँदैन ।’

हरिसिँह देवको मन्दिर र पतारी पोखरीको अनौठो, अतुल्य र अपूर्व महिमागाथा भएको लक्ष्मीपुरपतारीका अध्यक्ष हुन् रामबल्लभ साह । स्थानीय राजनीतिमा उच्चशिक्षा हासिल गरेकाहरूको खढेरी परेका बेला अध्यक्ष साह ०३२ सालमा जनकपुरस्थित राराब क्याम्पसबाट स्नातक गरेका छन् ।
साबिकका पिपरा, पोखरभिन्डा, महेश्वरपतारी, लक्ष्मीपुरपतारी, खरुक्याही र सीतापुर गाविस मिलेर बनेको लक्ष्मीपुरपतारी गाउँपालिकाका राजनीतिक नेतृत्व साह मधेस राजनीतिका पुराना, परिक्पक्व र अनुभवी राजनीतिकर्मी हुन् ।
मधेस राजनीतिका शीर्ष र कालजयी व्यक्तित्व गजेन्द्रनारायण सिँहसँग राजनीतिक कारणले सीमावर्ती भारतीय राज्य विहारको दरभंगामा निर्वासित रहँदा सम्पर्क भएपछि साहले मधेसवादी राजनीति सुरु गरेका थिए ।
तत्कालीन पञ्चायत व्यवस्थाविरुद्ध ०३६ सालमा भएको आन्दोलनमा २४ दिन सप्तरी कारगारमा बिताएका साह जनमतसंग्रहको घोषणापछि मात्र रिहा भएका थिए । रिहा भएलगत्तै उनी बहुदलका पक्षमा प्रचारप्रसार गर्न थाले । अहिले जनता समाजवादी पार्टी(जसपा) नेपालका मधेस समिति सदस्यसमेत रहेका गाउँपालिका अध्यक्ष साहले सम्झे,‘जनमतसंग्रह परिणाममा सिरहाबाट बहुदलले ४० हजार मतले अग्रता लिएको थियो ।’
०३८ सालमा सुधारिएको पञ्चायत आएपछि गजेन्द्रनारायण सिँह र उनीसँगका राजनीतिकर्मीहरू चुनावमा सहभागी हुने रणनीतिक निर्णय गरे । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यमा सप्तरीबाट गजेन्द्रनारायण सिँह र सिरहाबाट केदारनाथ यादवले चुनाव लडे । तिनताक नै गजेन्द्रनारायण सिँहको नेतृत्वमा सद्भावना परिषद् गठन भएर मधेसका २२ वटै जिल्लामा विस्तार भयो । त्यतिबेला परिषद्का सिरहा अध्यक्ष हेमनारायण यादव थिए र साह उपाध्यक्ष । पछिल्ला दिनमा एमालेका चर्चित नेता माओवादी द्वन्द्वकालमा मारिएका थिए ।
सद्भावना परिषद्ले ०४४ सालको स्थानीय निर्वाचनलाई जनसम्पर्कका लागि उपयोग गर्ने नीति लियो । साह त्यो निर्वाचनमा महेशपुरपतारी गाउँपञ्चायत अध्यक्षमा विजयी भए । २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रकालमा २०४९ मा भएको स्थानीय निर्वाचनमा साह महेश्वरपुरपतारी गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।
मओवादी द्वन्द्वकालमा स्थानीय निर्वाचन हुन सकेन । गाउँपञ्चायतदेखि गाउँपालिकासम्मको नेतृत्व गरेका साह गाउँमै झन्डै दुई दशक बिताए ।
२०६२ २०६३ को जनआन्दोलन र त्यसपछिको मधेस आन्दोलनपछि स्थिति फेरियो । प्रजातन्त्रकालमा सद्भावना पार्टीमा रूपान्तरित भइसकेको सद्भावना परिषद् टुक्राटुक्रा भए । त्यसपछि साह तत्कालीन मधेसी जनअधिकार फोरम प्रवेश गरे । मधेस आन्दोलनको नयाँ अध्यायमा पनि उनको सक्रियता पहिलेझैं थियो ।
२०७२ सालमा संविधान जारी भएपछि २०७४ असोज २ गते भएको स्थानीय तह निर्वाचनमा साह लक्ष्मीपुरपतारी गाउँपालिकाका अध्यक्ष भए । पञ्चायत, प्रजातन्त्र र गणतन्त्र तीनवटै कालमा स्थानीय तहको नेतृत्व गरेका साहले भने, ‘पहिले स्थानीय तहमा साधनस्रोतको अभाव थियो, अहिले साधनस्रोत छ । त्यसैले गाउँको मुहार फेरिँदैछ ।’
उनले स्थानीय सरकार अझै अधिकारसम्पन्न भइनसकेको र संघ सरकारको हस्तक्षेपकारी नियन्त्रणमा काम गर्नुपरिरहेको परिस्थिति भने असहज भएको बताए ।
