अहिलेका


रुखको फेद र खुला चउरमा झापखालाको उपचार

कपिलवस्तु, २२ असोज ।
समुदायमा फैलिएको झाडापखालाका कारण दुईजनाको मृत्यु र छ सयभन्दा बढी बिरामी भइसक्दा पनि कपिलवस्तुको कृष्णनगरपालिकास्थित बहादुरगञ्जमा रोग पहिचान भएको छैन ।

महामारी वा प्रकोपका बेला रोग पहिचान गर्न आवश्यक नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने हुन्छ । तर, झाडापखालाको प्रकोप फैलिएको तीन दिन बितिसक्दा बल्ल दिसाको नमुना काठमाडौं पठाइएको छ ।

बिरामीहरूको उपचारमा संलग्न चिकित्सकहरूले दिसामा कोलिफर्म ब्याक्टेरिया देखिएकाले हैजाको आशंका व्यक्त गरेका छन् । तर, झाडापखालाको कारणबारे भने प्रयोगशाला परीक्षण प्रतिवेदनपछि मात्र यकिन हुनेछ ।

‘अहिले हामी लक्षण र संकेतका आधारमा उपचार गरिरहेका छौं,’ कृष्णनगर नगरपालिका बहादुरगञ्जस्थित शिवराज अस्पतालअगाडि रुखको फेद र खुला ठाउँमा बिरामीको उपचार गरिरहेका एक चिकित्सकले भने,‘दिसाको रिपोर्ट आइसकेपछि निश्चयात्मक उपचार गर्नेछौं ।’ बिरामीहरूमा बान्ता, पखाला, पेट दुख्ने र कमजोरी हुने लक्षण देखिएका छन् ।

झाडापखाला फैलिएको कृष्ण नगरपालिका कार्यालयको तस्बिर

पाँचजना बिरामीको दिसाको नमुना संकलन गरी काठमाडौं पठाइएको रिपोर्ट आउन थप एक दिन लाग्नेछ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले शुक्रबार बेलुका वा शनिबार बिहानसम्म रिपोर्ट आइपुग्ने बताए । उनले दूषित पानीका कारण झाडापखाला फैलिएको प्रारम्भिक अनुमान सुनाउँदै समुदायमा पानी उमालेर खाने चेतना दिन थालिएको जानकारी दिए ।

बिरामीहरूको उपचारका लागि आठ डाक्टरसहित २८ स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

१५ शैय्याको शिवराज अस्पतालमा क्षमताभन्दा कयौं गुणा बढी झाडापखालाका बिरामी थपिएपछि तीमध्ये धेरैलाई अस्पताल अगाडि रुखको फेद र खुला ठाउँमा उपचार गराउनु परेको छ भने अरूहरूलाई नजिकका अस्पतालहरूमा रेफर गरिएका छन् । निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरूको संख्या समेत उल्लेख्य छ ।

बहादुरगन्जस्थित शिवराज अस्पतालमा बिहीबार १ सय २५ जना नयाँ बिरामी थपिएका छन् । बिहीबारसम्म अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या ४ सय ७० पुगेको बताए । बिहीबारसम्म ३ सय १४ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले अस्पतालमा ८७ जनाको उपचार भइरहेको देवकोटाले बताए । बढी सिकिस्त ३५ जनालाई बुधबार र ३४ जनालाई बिहीबार उपचारका लागि बुटवल, भैरहवा र तौलिहवा पठाइएको छ ।

बहादुरगन्जबाट वितरण गरिएको खानेपानीका पाइप ठाउँ–ठाउँमा टुटफुट र लिकेज भएर संक्रमण फैलिएको प्रारम्भिक आकलन गरिएको नगर प्रमुख रजतप्रताप शाहले बताए ।

प्रकोपबाट मंगलबार बिहान दुई जनाको मृत्यु भएको थियो । सुरुमा कृष्णनगर नगरपालिका–७, ८ र ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरागाउँका बासिन्दा बिरामी परेका थिए । पछि संक्रमण अन्य वडामा फैलिएको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!