काठमाडौं, ११ कात्तिक । वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी पनि बढ्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । जसकारण पछिल्ला दिनमा उपचारका लागि अस्पताल आउने बिरामीको संख्यामा पनि वृद्धि भएको पाइएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि केही दिन यता ननकोभिड विरामीको संख्या वृद्धि भएको छ । अस्पतालका डाक्टर निरज बमले दिएको जानकारी अनुसार दिनमा औसतमा एक सयजनाको दरले मौसमी खालका बिरामीहरू उपचारका लागि अस्पतालमा आउने गरेको बताए ।
यसरी बिरामीहरू उपचारका लागि आउँदा बेडअभाव भएकाले एउटै बेडमा तीनजनासम्म राखेर उपचार गर्नुपरेको उनको भनाइ छ । अहिले बेडअभाव रहेकाले औषधि सेवन गरेर घरमै बस्ने प्रकृतिका बिरामीलाई औषधि दिएर घर पठाइएको उनले बताए ।
अस्पतालको आकस्मिक कक्ष पनि ननकोभिडका बिरामीले भरिएको छ ।
यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले पनि हिउँदयाम लागेसँगै मौसमी खालका बिरामीहरू बढेको बताएका छन् । अस्पतालमा रुघा, खोकी, ज्वरोसँगै डेंगुका बिरामी पनि आउने गरेका उनले जानकारी दिए ।
बर्षा सकिएसँगै पानी जमेका पोखरीमा लामखुट्टेले फुल पार्ने भएका कारण पनि अहिले डेंगु रोगको जोखिम रहेको उनको भनाइ छ । अस्पतालमा अरू बेलाको तुलनामा चार–पाँच जनाका दरले विरामीहरू बढेका छन् । यो समाचार गोरखापत्र अनलाइनमा प्रकाशित छ ।
