अहिलेका


लघुकथा : ‘म रखौटी बन्दिनँ, नाठो बनाउँछु’

क्षितिजा सुशान्त

उनी आज एक्लो चुपचाप र उदास थिइन् । अन्तर्मुखी स्वाभावकी उनी उहिलेदेखि नै थिइन् । अनुहारलाई पढ्नै नदिने गरी स्थिर र शान्त राख्ने बानी भएकी । चेहराबाट उनका भाव र संवेदना ठम्याउनै नसकिने । अनि बोली । थोरै बोल्दा पनि अलिक शिष्टता र नम्रता । यो भद्रताभित्र व्यवहारको विचित्रता, कुरूपता र केही अर्थमा क्रुरता लुकाउने बानी ।

उनी किन आज नबोलीकन एकतमास टोलाइरहेकी छे जनकपुरको रामानन्द प्रवेशद्वार । यो ठाउँ नै हो उनका जीवनका तीतामिठा क्षणका साक्षी । भावनाका उतारचढावका छालहरू उर्लेर पोखिएका बेला यो ठाउँ नै थियो जसले उनका ओठमा मुस्कान र चित्तमा आनन्द पस्केको ।

आज प्रवेशद्वारका अग्ला पिलरमुनि उनका सपना अलिक होचिएका थिए । कुनै बेला शिखरोन्नयन गराउन प्रेरणा दिने प्रवेशद्वारका टाकुराले आज उनलाई गिज्याएको प्रतीत भयो । कुनै बेला यस प्रवेशद्वारकै वरपर उनले श्यामलाई भनेका थिए, ‘तिमीबिना तिम्रो सहर मलाई सुन्दर लाग्छ । तिम्रा सहरका मानिस मेरो मुटुमा ढुकढुकी थप्छन् ।’

श्याम कुनै बेला उनको चाहना थियो । आज सहरका भिडमा श्याम उनका लागि डस्टपिनमा राख्ने च्यातिएका कागज भइसकेका थिए । बिल्कुल असान्दर्भिक । एउटा अतीत जसको सम्झनाले पनि उनको मनमस्तिष्कलाई बेस्करी हुडल्थ्यो । टाउको दुखाइ श्याम आज रामनन्दचोकका पार्कनजिक थिएनन् । न त उनको अहिले अनुहारलाई अँध्यारो र बोलीलाई शुष्क बनाउने कारण ।

आज रविको बिहा हुँदैथियो । ‘रवि, म तिम्रा लागि श्यामका विश्वास र भरोसासँग खेलबाड गरेँ, झुटा बोलेँ र उनलाई धेरै समयसम्म स्वाँठ बनाए । तर तिमी मलाई कसरी यसरी छाडेर नयाँ जिन्दगी सुरु गर्न सक्छौं,’ उनले बेहुली अन्माउन जानु केही पलअघि मात्र रविलाई भनेकी थिइन् ।

रविले सम्झाइबुझाइ गरे । नापतौल गरेर रविले बेहुला सिंगार गर्नुअघि भनेका थिए, ‘तिमीले नै भनेकी होइनौं कि म बिहा गर्न जाँदा सक्यौं भने जन्ती नै जान्छौं होइनौ भने खुसीखुसी बिदा गर्छौं । अनि आज किन यति कोकोहोलो र रुवाबासी ?’

रविले सम्झाइबुझाइ गरे । नापतौल गरेर रविले बेहुला सिंगार गर्नुअघि भनेका थिए, ‘तिमीले नै भनेकी होइनौं कि म बिहा गर्न जाँदा सक्यौं भने जन्ती नै जान्छौं होइनौ भने खुसीखुसी बिदा गर्छौं । अनि आज किन यति कोकोहोलो र रुवाबासी ?’

उनी निरुत्तर भइन् । उनी अर्थात् सरस्वती । जम्माजम्मी दुई वर्ष भयो उनीहरूका बीचमा मायाप्रिति बसेको । एकअर्कालाई छाड्नै नसक्ने सक्ने गरी कसिलो गरी बाँधिएका । जनकपुरमा एक्लै बस्ने सरस्वतीलाई रातदिनका साथ र संगत गर्ने रवि पछिल्ला समय त ‘लिभिङ टुगेदर’ मै बस्न थालेका थिए ।

सरस्वती जनकपुरमा एक्लै बसिरहेकी थिइन् जनकपुरको डेरामा । बेरोकटोक बिहानबेलुका र रातका प्रहरहरूमा सरस्वतीका अङ्गप्रत्यङ्लाई भरिला पोषिला बनाउने रवि उमेरमा सरस्वतीभन्दा अलिक कान्छा थिए । तर, सरस्वतीका लागि असल र विश्वासिला ।

सरस्वती पूर्वी नेपालबाट काठमाडौं हुँदै जनकपुर सहरमा आएकी थिइन् । जनकपुरका रैथाने श्यामसँग । एउटा निश्चित भविष्यको रूपरेखा कोर्न । यहाँको तस्बिर आफ्नो भाग्योदयमा उतार्न । तिनै फोटाको खोजीमा श्यामले नै भेटाएका थिए रविलाई सरस्वतीसँग ।

श्यामसँग झन्डै आधा दशक बिताएकी सरस्वती सम्बन्धमा अर्थ भेट्टाएकी थिइनन् । अलिक समय बितेपछि बुढाबूढीको त सम्बन्ध चिसिन्छ । उनीहरूबीचका सम्बन्ध बिस्तारै बासी हुँदै गएको थियो । रुचि नलागे पनि खानै पर्ने । सामीप्यमा उष्णता थिएन, सँगैको बसाइ पट्यारिलो हुँदै गयो । अनि सरस्वतीको रोजाइमा परे रवि ।

रविको आफ्नै शैली थियो । केटीसँग नजिकिने । छेउमा बसेकी केटीसँग नजिकिने रहर र मात त गजपको । टिफिनमा खाना लिएर आउन भन्ने अनि सँगै खाने । उनलाई थाहा थियो पेटको बाटो सरल रहेछ मुटुमा छिर्न । श्यामकै कम्पनीका काममा रविसँग छेउमा टाँसिएर श्रव्यदृश्य सम्पादन गराउने सरस्वती रविका आग्रहमा खानाखाजा पकाएर लिएर जान थालिन् उनका अफिसमा । सँगै बस्ने र खाने सम्बन्ध घरसम्म एउटै मोटरबाइकमा जाने र बिस्तारै ओछ्यानमै बस्नसम्म बन्न पुग्यो ।

श्यामसँग झन्डै आधा दशक बिताएकी सरस्वती सम्बन्धमा अर्थ भेट्टाएकी थिइनन् । अलिक समय बितेपछि बुढाबूढीको त सम्बन्ध चिसिन्छ । उनीहरूबीचका सम्बन्ध बिस्तारै बासी हुँदै गएको थियो । रुचि नलागे पनि खानै पर्ने । सामीप्यमा उष्णता थिएन, सँगैको बसाइ पट्यारिलो हुँदै गयो । अनि सरस्वतीको रोजाइमा परे रवि ।

रवि जनकपुरका डेरावाल हुन् । उनका डेरामा सरस्वती सुरुका दिनमा श्रव्यदृश्य सम्पादन गर्ने सीप र इलम लिन पुगिन् । अनि घरपरिवारलाई सघाउने बानीले गर्दा अघोषित रूपमै रविका घरकी बुहारी भइन् । उनको बुहार्तनबाट कम्ती खुसी थिएनन् गाउँबाट जनकपुरका डेरामा आउने रविका बाआमा । छोरोलाई एउटी कामलाग्ने केटीले सुख र सन्तोक दिएको छ भन्नेमा गर्व थियो ।

रविका बाआमाका मनमा अलिक पिर र सूर्ताचाहिँ थियो कि कतै छोरोले आफ्नै जातका केटी बिहा गर्दैनन् कि भनेर । तर सरस्वती श्यामसँग बसेका । काटीकुटी उनका बोली र बठ्याइँ सिकेकी । उनले नै भनिछन्, ‘हामी असल साथी हौं, मेरै कारणले उनले बिहा नगर्ने कुरा हुँदैन । र, बुझ्नुस् आजका समयमा केटाकेटी राम्रो साथी हुन सक्छन् ।’

त्यसपछि रवि र सरस्वतीका बीचमा रविका बाआमा कहिल्यै परेनन् । र, सरस्वती उनका परिवारका एउटी अभिन्न सदस्य नै भइन् ।

त्यसो भए सरस्वती आज किन दुःखी छे । उनले अतीतलाई सम्झी । १६ वर्षमा बिहा अनि २० वर्षमा लोग्नेसँग छुट्टिएर राजधानीको बसाइ । २७ वर्षमा डिभोर्स । उनका पहिलेका लोग्ने घरजम गरी खुसी छन् । उनको जिन्दगी धेरै नै अघि बढिसकेको छ । त्यसपछि श्याम उनको जिन्दगीमा आए । दुवैका अर्थात् श्याम र सरस्वतीका सङ्घर्षका क्षण कम्ती कहालीलाग्दा छैनन् । नाककान बुच्चे बनाएर श्यामलाई काम सुरु गर्न लगाएकी उनले बिर्सन सकेकी छैनन् । करिब आठ वर्षअघिको कुरा हो, श्यामलाई चुरोट पिउन दुईचार रुपैयाँ सोहोरसाहर पारेर दिँदै गरेकी ।

समय बदलिन्छ । श्यामसँग जनकपुरको भूमि टेकेकी उनलाई रविको साथले धेरै उचाइ र आत्मविश्वास दियो । श्यामको थोत्रा बाइक र अलि दिक्कलाग्दो जीवनशैलीभन्दा रविका रोमाञ्चक र जीवनका अधुरा कथाहरूले तान्यो ।

रविले सरस्वतीलाई भनेका थिए, ‘तिमी मेरो जिन्दगीमा आउनुअघि एउटी केटी थिइन् । तर उनका परिवारले मलाई छाड्न लगाएर उनको बिहा अन्तै गराइदिए । काश, त्यो केटी अझै भेटेकी भए म ऊसँग जिन्दगी बिताउँथे ।’

यथार्थ फरक थियो । त्यो सम्बन्धबाट रवि पछि हटेका थिए । तर, रविको यस्तो निर्दोष कुराले सरस्वतीको मनलाई गहिरो गरी छोयो । सम्बन्धमा पटकपटक ठगिएको महसुस गरेकी सरस्वतीलाई रवि त अर्को भगवान् लाग्न थाल्यो । अनि सम्बन्धका कुरा त सामान्यझैं भयो । मन र मुटु एकैछिनमै साटिए ।

सरस्वतीसँग श्यामले कोरिदिएको बाटो थियो । र, श्यामले दिएको प्रशिक्षण । सरस्वती आज जनकपुरमा नाम र दाम दुवै कमाएकी छिन् ।

आज रविको बिहा छ । पारिपट्टि रवि जन्ती लिएर जाँदैछन् । सरस्वतीलाई विश्वास छ कि उनी समाज र परिवारका लागि बिहा गरे पनि सम्बन्ध पहिले झैं रहिरहन्छ । तर मनमा एउटा फिकिर छ कि कतै यस्तो भयो भने श्यामको एउटा प्रश्नको उत्तर म समयलाई के दिन्छु ।

धेरै ढाँटछलपछि श्यामले थाहा पाएका थिए उनका सम्बन्धका बारेमा । सरस्वतीले भनेकी थिइन्, ‘तपाईं मलाई आत्मनिर्भर बन्न दिन चाहनु भएन । रविले मलाई मलाई स्वतन्त्रताको अनुभूति दिलाएको छ । मलाई तपाईंजस्तो मैले प्रगति गरेका डाहा गर्दैनन् । आज तपाईं कहाँ हुनुहुन्छ र म कहाँ ?’

आज श्याम छैेनन् सरस्वतीको जिन्दगीमा । उनी अलिक बौलाहा भए । उनको क्यारियर नै चिरिच्याट्ट भयो । सायत् कतै कुनै कुनामा उनी एकाबिहान मदिरा सेवन गर्दै होलान् । चुरोटको सर्कोसँगै सरस्वतीका धोखाहरूलाई सम्झिँदै होलान् ।

तर, उमेर घर्किन लाग्दा सरस्वती कहाँ छे । कुनै बेला श्यामका मायालु उनी भोलिबाट रविको रखौटी बन्दैछिन् ।

तर, सरस्वती बलिया छिन् । उनले मनमनै सोचिरहेकी छिन, ‘म रखौटी बन्दिनँ, नाठो बनाउँछु रविलाई ।’

(क्षितिजा सुशान्त लेखिका र कवियित्री हुन् । यथार्थ घटनालाई साहित्यमा उतार्न उनी अब्बल मानिन्छिन्)


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!