अहिलेका


लुम्बिनी प्रदेशमा १० हजार बालबालिकाले लगाए खोप


पुस ८,

 

लुम्बिनी प्रदेशका १२ मध्ये नौ जिल्लामा कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन थालिएको छ । तीन जिल्लामा फाइजर खोप अभियान छ ।प्रदेशका रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई अभियानका रुपमा खोप लगाउन थालिएको हो । सोमबारदेखि सुरु भएको अभियान पुस १४ गतेसम्म रहने स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बुधबारसम्म १० हजार बढी बालबालिकाले खोप लगाएका छन् ।मन्त्रालयका प्रवक्ता डा। पुष्पराज पौडेलका अनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले प्राथमिकतामा राखेर मोडर्ना खोप लगाउन लागेको हो । प्रदेशका रूपन्देही, दाङ र बाँकेमा १२ वर्षमाथिका दीर्घरोगीका लागि फाइजर खोप अभियान जारी छ । दीर्घरोगीले लगाएर बचेको खोप बालबालिकालाई पनि लगाइएको छ । तीनवटै जिल्लामा अहिले फाइजरको दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।मोडर्ना खोपअन्तर्गतको अभियानमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा मंगलबारमात्र दुई हजारभन्दा बढी बालबालिकाले खोप लगाएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले एकै दिन छात्रा १ हजार ७२ र छात्र १ हजार ६० गरी २ हजार १ सय ३२ जनाले खोप लगाएको बताए । रूपन्देहीमा १ लाख १९ हजार ६ सय २२ बालबालिकालाई खोप लगाउने तयारी छ । तीमध्ये झण्डै २ हजार बालबालिकाले मात्र फाइजर खोप लगाएको जनस्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले बताए । ‘बाँकी बालबालिकालाई पनि फाइजर खोप लगाउने गरी माग गरेर पठाएका छौं,’ उनले भने, ‘खोप आएपछि केही दिनमै अभियान चलाउने तयारी छ ।’ रूपन्देहीका अधिकांश स्थानीय तहले विद्यालयमै पुगेर खोप लगाउने तयारी गरेका छन् ।मन्त्रालयका अनुसार प्रदेशका नौ जिल्लामा खोप लगाउन विद्यार्थीको उत्साहजनक सहभागिता छ । धेरै स्थानीय तहले विद्यालयमै लगेर खोप लगाइरहेका छन् । बुधबारसम्ममा प्रदेशभर १० हजार बढी बालबालिकाले खोप लगाइसकेको प्रवक्ता पौडेलले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!