जनकपुरधाम, ११ असोज ।
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको बैठक केहि बेरमा बस्दैछ ।
सोमबार जनकपुरधाममा दिउसो २ बजेदेखि संसदीय दलको बैठक बस्दैछ । सो बैठकबाट प्रदेश सांसदहरुलाई संसदीय दलको विधान माथि छलफल हुनेछ भने संसदीय दलको नेता समेत चयन गरिने प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए ।
आइतबार नै प्रदेश सांसदहरुलाई विधान अध्ययन गरेर त्यसमा संशोधन र परिमार्जन गर्नुपर्ने बुँदाहरु माथि छलफल समेत हुनेछ ।
विधान पारित भएसंगै अगाडिको प्रक्रियामा जान मिल्ने प्रावधान अनुरुप सबैलाई अध्ययन गरेर त्यसमाथि राय सुझाव प्रदेश सांसदहरुसंग लिने जनाइएको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र केन्द्रिय सदस्य अनिलकुमार झाको उपस्थितिमा सुरु हुने बैठकले प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई दलको नेतामा चयन गरिने स्रोतको दावी छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ प्रदेशसभामा पनि सोनल नै संसदीय दलका नेता थिए ।
शेरबहादुर देउवा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि जसपाबाट अल्लगिएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन गरिएको हो ।
जसपाका ५५ प्रदेश सांसद मध्ये १६ सांसदले लोसपा रोजेका छन् ।
