जनकपुरधाम, २९ माघ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडको रेल जयनगर–कुर्था रेलमार्गको पूर्वोत्तर बिसौनी इनरुवाबाट जनकपुरधामका लागि गुडेको छ । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा त्रिपाल ओढाएर राखिएका दुईमध्ये एक ट्रेन जनकपुरधाम आउन लागेको हो ।
कम्पनीले आज(आइतबार) बाट जयनगर–कुर्थासम्मको ३६ किलोमिटर रेलमार्गमा रेल गुडाउने शनिबार जानकारी दिएको थियो । अहिले गुड्ने रेल भने यात्रुविहीन हुनेछ ।

रेल सञ्चालनका लागि आवश्यक पूर्वाभ्यास र पूर्वतयारीको अन्तिम चरणअन्तर्गत जयनगर–कुर्था रेलमार्गमा यात्रुविहीन रेल गुडाउन थालिएको हो ।
इनरुवाबाट जनकपुरधामसम्म रेल आउने समय अवलोकन तथा रेलमार्गका अवरोधहरू समेत अध्ययन तथा अवलोकन हुने र सुरक्षाका दृष्टिले यात्रुसहित रेल सञ्चालन पूर्व नै ती समस्या समाधान गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरन्जन झाले बताए ।
इनरुवाबाट अबका केही बेरपछि जनकपुरधाम आउने रेल कुर्थासम्म पुगेर फेरि इनरुवा फर्कनेछ ।
जनशक्ति अभावलगायतका व्यवस्थापकीय कारणले नेपाल रेलवे कम्पनीको रेल सञ्चालनमा आउन सकेका थिएनन् ।
गत साल २ असोजमा भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएका थिए ।
यात्रुबिनाको रेल औपचारिक रूपमा उद्घाटन नहुँदासम्म नियमित सञ्चालन गरिने कम्पनी व्यवस्थापनले जनाएको छ ।
रेल्वे लिक क्रस गरी बनाइएका बाटा पनि बन्द गरिएका छन् । सुरक्षा सतर्कताका कारण भोलि बिहानबाटै गेट म्यान काममा खटिनेछन् ।
रेल सञ्चालनका लागि ठाउँठाउँमा अतिक्रमित लिक खाली गराइएको छ भने रेल्वे लिकमै सञ्चालन हुने हाटबजार र लिक भएर हुने आवतजावतमा रोक लगाइएको छ ।
रेल्वे लिकमा जथाभाबी विचरण गर्ने तथा चर्ने पशुचौपाया नियन्त्रण गर्न स्थानीय निकायमार्फत सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिइएको छ ।
कम्पनीका अनुसार भोलिबाट ६० नेपाली र १४ भारतीय कर्मचारी रेल सञ्चालनको जिम्मेवारीमा संलग्न हुनेछन् । थप १२ भारतीय कर्मचारी यात्रुसहितको रेल सञ्चालन गर्ने बेलामा आउनेछन् ।
