जनकपुरधाम, १४ कात्तिक ।
जनकपुरधाम उपमहानगरपालिकाका केही वडाध्यक्षहरूको अगुवाइमा मेयर लालकिशोर साहका घरअगाडि फोहोर थुपारिएको छ ।
दीपावली र छठजस्ता चाडबाडका बेलामा समेत उपमहानगरनगर क्षेत्रको फोहोरमैला व्यवस्थापन र सरफाइ नगरिएकाले मेयरका घरअगाडि फोहोर थुपारेर विरोध गरिएको वडाध्यक्षहरूले बताएका छन् ।
डम्पिङ साइट अभावमा उपमहानगर क्षेत्रमा उत्सर्जन हुने फोहोर व्यवस्थापन हुन सकेको छैन । अझ पर्वतिहारका बेला आकस्मिक वैकल्पिक व्यवस्था गरेर भए पनि फोहोर उठाउनुपर्ने जनप्रतिनिधि र स्थानीय बासिन्दाको मागप्रति उदासीन भएपछि मेयर साहको घरअगाडि फोहोर फ्याकिएको हो ।
‘यो एउटा कठोर, अप्रिय तर गर्नेपर्ने सांकेतिक विरोध हो । फोहोर व्यवस्थापनलाई बेवास्ता गर्दैआएउका मेयरलाई ध्यनाकृष्ट गर्ने तरिका पनि हो,’ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले भने ।
मेयरको घरअगाडि फोहोर थुपार्न अगुवाइ गर्ने अन्य वडाध्यक्षहरूमा वडा नम्बर १ का शत्रुधन साह र वडा नम्बर ४ का सुदर्शन सिंह छन् ।
ट्याक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफैंले ट्याक्टर चलाएर मेयरको घरसम्म फोहोर पु¥याएका थिए ।
