अहिलेका


‘वनसम्पदालाई सके बाढीले बगाउँछ नसके गाडीले ओसार्छ’

चुरे क्षेत्र अवलोकनमा प्रदेशसभा सदस्य

 

अनिलकुमार कर्ण

बर्दिवास, १५ असोज ।
प्रदेशसभा २ को प्राकृतिक स्रोत तथा वातावरण समितिका सदस्यहरूले चुरेक्षेत्रको अवस्था, जलवायु परिवर्तनका असर र त्यसबाट उत्पन्न अवश्यम्भावी प्रकोपका बारेमा स्थलगत अवलोकन तथा अध्ययन गरेका छन् । समितिका सदस्यहरूले महोत्तरी र धनुषाको उत्तरीभेगस्थित कालापानी र तुलसीमा भ्रमण गरी वन, खानेपानीलगायतका उपभोक्ता, सरोकारवाला र सर्वसाधारणसँग चुरेक्षेत्रको समग्र अवस्थाका बारेमा अन्तक्र्रिया गरेका हुन् ।

प्रदेशसभा २ को प्राकृतिक स्रोत तथा वातावरण समितिको आयोजना र युएनडिपीको संसदीय सहयोग परियोजनाको समन्वयमा त्यसक्षेत्रमा पुगेका समितिका सदस्य एवम् प्रदेशसभा सदस्यहरूले चुरे संरक्षणका लागि भइरहेका स्थानीय प्रयास र सरकारसँगको जनअपेक्षाबारे जानकारी लिएका छन् ।

चुरेक्षेत्र भ्रमण अवलोकन गर्ने प्रदेशसभा सदस्यहरूमा परमेश्वर साह, कौशलकुमार यादव, अभिराम शर्मा, विशेश्वरप्रसाद यादव र रानी शर्मा छन् ।

युनएनडिपीको संसदीय सहयोग परियोजनाले संस्थागत सुधार, कानुन निर्माण, निगरानी र पहुँच अभिवृद्धिमा प्रदेश २ सभा र यसका विषयगत समितिहरूलाई सघाउँदै आएको छ । युएनडिपीको संसदीय सहयोग परियोजनाका संसदीय मामिला अधिकृत बिट्टुबाबु श्रीवास्तवले परियोजनाले प्रदेश २ सभाका कामकाजलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन सहयोग, समन्वय र प्राविधिक सहयोग गरिरहेको बताए ।


भ्रमणअवलोकनमा पुगेका सदस्यहरू रातु नदी प्रणालीका खहरे, खोल्सी र गल्छीहरू नियन्त्रणका लागि बनाइएका भौतिक तथा जैविक संरचनाहरू अवलोकन गरेका छन् । उपभोक्ताहरूले चुरेक्षेत्रमा जलाधार चेकड्याम निर्माण र जलाधार पोखरीहरू निर्माण गरेर खानेपानीको मुहान संरक्षण र गेग्रयान नियन्त्रण कार्य गरिएको बताए । उनीहरू स्थानीय गैररकारी संस्था र केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका सहयोगमा चुरे संरक्षणका अत्यावश्यक काम गरिए पनि त्यसमा सरकारी लगानी कम मात्र रहेको र त्यो पनि प्रतिफल दिने खालको नरहेको गुनासा गरेका छन् ।

प्रदेशसभा सदस्यहरूले अवलोकन गरेको रातु नदी धनुषा र महोत्तरीको सीमा नदी हो । पूर्वपश्चिम राजमार्गमा पर्ने महोत्तरीको बर्दिवासबाट २२ किलोमिटरमा यस नदीको मुहान छ ।

चुरे संरक्षणका लागि रातुमा नदी प्रणाली व्यवस्थापन र एकीकृत जालाधार व्यवस्थापनका कार्य भइरहेका छन् । रातु नदी प्रणालीमा एक सय आठवटा मुख्य खहरे र गल्छीहरू माथ्लो तटीय जलाधार क्षेत्रमा छन् । जनजंगल क्षेत्रभित्रका यी खहरे र गल्छीहरूको लम्बाइ पाँच सय मिटरदेखि पाँच किलोमिटरसम्म छ ।

प्रदेशसभा सदस्यहरूको भ्रमणलाई अनौपचारिक सहजीकरण गर्ने सामुदायिक विकास पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले नदी आफैंमा समस्या नभएर नदी प्रणालीका खहरे, खोल्सा, गल्छी र पहिरोबाट संकट उत्पन्न भइरहेको बताए । उनका अनुसार स्थानीय समुदायले ६८ वटा खहरेमा ५५ वटा चेकड्याम लगाएको छ । व्यवस्थापन कार्यमा बायोइन्जिनियरिंग र लोकस्ट टेक्नोलोजीको उपयोग गरिएको यादवले जानकारी दिए ।

चेकड्याम एउटा पक्की संरचना हो । खहरेबाट आउने पानीलाई रोक्ने गर्छ । विस्तारै पानीलाई मुनिको पाइपबाट बगाउँछ । हवारहवारती पानी आएका बेला भने संरचनामाथिबाटै पानी बग्ने गर्छ । यी चेकड्यामले गर्दा चुरेको माटो चुरेलाई र सफा पानी सबैलाई भन्ने सरकारी नारा पोषित भइरहेको छ । चेकड्यामले गर्दा बर्खाको पानीसँग बगेर जाने ढुंगा, गिट्टी र बालुवा चुरेक्षेत्रमै रोकिने गर्छ ।

‘स्थानीय साधनस्रोतलाई उपयोग गरिएको छ । एउटै खहरेमा दुई हजारसम्म बाँस रोपिएको छ,’ स्थानीय उपभोक्ताहरूको भनाइ छ । खहरेहरूमा चेकड्याम निर्माण गरी घरबस्ती र खेतीयोग्य जग्गा जोगाइएको अनुभव पनि ती उपभोक्ताहरूले व्यक्त गरे ।

चेकड्याम एउटा पक्की संरचना हो । खहरेबाट आउने पानीलाई रोक्ने गर्छ । विस्तारै पानीलाई मुनिको पाइपबाट बगाउँछ । हवारहवारती पानी आएका बेला भने संरचनामाथिबाटै पानी बग्ने गर्छ । यी चेकड्यामले गर्दा चुरेको माटो चुरेलाई र सफा पानी सबैलाई भन्ने सरकारी नारा पोषित भइरहेको छ । चेकड्यामले गर्दा बर्खाको पानीसँग बगेर जाने ढुंगा, गिट्टी र बालुवा चुरेक्षेत्रमै रोकिने गर्छ ।

तुलनात्मक रूपमा अत्यन्त कमलो मानिने चुरे विनास हुनुमा चरिचरण पनि एउटा कारण हो । तर स्थानीय उपभोक्ताहरूका अनुसार अहिले त्यसक्षेत्रमा चरिचरण रोकिएको छ ।

प्रदेशसभा सदस्यहरूको जिज्ञासामा उपभोक्ताहरूले चुरे संरक्षणका कार्यबाट मध्यतटीय क्षेत्रको मरुभूमिकरण र तल्लोतटीय क्षेत्रको डुबान समस्या कम भइरहेको बताए ।

चेकड्यामको निरीक्षण अवलोकनपछि कालापानीको जलाधार पोखरीमा पुगेका प्रदेशसभा सदस्यहरूलाई जलाधारपोखरी मार्फत बर्खाको पानी सञ्चित गरिँदा चुरेक्षेत्रको पुनर्जलीयकरण भइरहेको र बर्दिवासलगायत वरपरका बस्तीमा खानेपानी पुर्याउन सकिएको बताए । एकजना उपभोक्ताले करिब ५७ वर्षअघिको अनुभव साट्दै भने, ‘चुरे फँडानी भएर बसेको बस्ती नै खानेपानी अभाव र बाढीको पानीले घरखेत बगाउँदा विस्थापित हुने अवस्था थियो । तर अहिले यहाँ भएका संरक्षणका कामले स्थानीय सुरक्षित भएको अनुभव गर्न थालेका छन् ।’

स्थलगत अवलोकनपछि धनुषाको तुलसीमा आयोजित एक कार्यक्रममा एक उपभोक्ताले चुरेक्षेत्रबाट बालुवा, ढुंगा र गिट्टी बाढीले बगाएर तराई क्षेत्रमा लगिरहेको र त्यसमाथि चुरे उत्खनन् गर्ने तस्करहरूले गाडीमा ओसार्ने गरेका कहालीलाग्दो कथा सुनाए । उनले भने,‘चुरेको सम्पदा सके बाढीले लान्छ नसके गाडीले लान्छ ।’
अर्का एक उपभोक्ताले वनजंगल मासिँदा खाने कुरा र पानी अभावमा वन्यजन्तु आफ्नो प्राकृतिक बासस्थान छाड्न बाध्य भइरहेको बताउँदै रातु नदीको माथ्लो तटीय भेगका धनुषाका पाँचवटा र महोत्तरीका पाँचवटा वनमा जलाधार पोखरी, फलफुलका बोट रोपेर हुर्काइदिए वन्यजन्तुको संरक्षण हुने तथा नीलगाई, बँदेल र बाँदरहरूलाई खानपिउन तल्तिर भौतारिनु नपर्ने उल्लेख गरे ।

कार्यक्रमका सहभागी एक महिला उपभोक्ताले वनजंगलको सुरक्षामा खटिएका उपभोक्ताहरूलाई सरकारले प्रोत्साहित गर्न केही निश्चित रकम दिनुपर्ने बताए । उनले वनतस्करहरूसँग भिडन्त गर्ने उपभोक्ताको मनोबल बढाउन र सरकारी सहयोग तत्काल पुर्याउन पनि प्रदेश सरकार चनाखो हुनुपर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साहले प्रदेश सरकारसँग सीमित साधनस्रोत भए तापनि चुरे संरक्षणका लागि माथ्लो तटीय क्षेत्रमा काम गर्न आफूहरूले उपभोक्तलाई निर्देशन दिने बताए ।

अर्का प्रदेशसभा सदस्य कौशलकुमार यादवले स्थलगत अवलोकनबाट चुरेका बारेमा सही समस्या बुझेको र समस्या समाधानका लागि प्रदेश सरकारको भूमिका स्थापित गर्न प्रदेशसभाको विषयगत समितिले आवश्यक निर्देशन दिने बताए ।

कार्यक्रममा सहभागी अर्का प्रदेशसभा सदस्य विशेश्वरप्रसाद यादवले चुरे क्षेत्रको भ्रमण गर्दा टाउकोमा रोग रहेको आफूले अनुभव गरेको र उपचार पनि टाउकोकै गनुपर्ने बताए । यसका लागि आफूहरू गम्भीर रहेको उनको भनाइ थियो ।

कार्यक्रमअघि बदिवासमा आयोजित परिचयात्मक बैठकमा प्रदेशसभा सदस्य रञ्जित यादवले भ्रमणका उद्देश्यबारे जानकारी दिएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!