अहिलेका


वर्षाले धनुषामा तरकारीवालीमा क्षती, करोडौंको तरकारवाली नष्ट

जनकपुरधाम, ८ कार्तिक ।

अविरल वर्षाको कारणले धनुषामा धानबालीसँगै तकारीवालीमा समेत क्षती भएको छ ।

हरियो तरकारी खेतिको केन्द्र मानिएको क्षीरेश्वरनाथ नगरपालिका स्थित ८ दिगम्बरपुरका किसानको सयौं विघामा लगाइएका काउली, भान्टा, गोलभेडा र खुर्सानीलगायत मौसमी तरकारी खेतीमा वर्षाको पानीले क्षती भएको हो । वर्षाले तरकारी वालीमा क्षति पुगेपछि यहाँका किसान चिन्तित छन् ।

बजारमा लग्नका लागि तयारी अवस्थामा रहेको काउली, उम्रँदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारीवाली गलेर नोक्सान भएको स्थानीय किसान सत्यनारायण महतोले बताए । एक विघामा लगाइएको काउली काट्ने बेलामा वर्षाले नष्ट भएको उनले बताए ।

एक विघामा ५० हजार रुपैयाँ खर्चेर लगाईएको काउली नष्ट भएपछि लाखौँ रुपैयाँको क्षति भएको उनको भनाइ छ ।

किसानको काउली खेतमै नष्ट भएपछि बजारमा काउली सहित हरियो तरकारीको मुल्यमा अत्याधिक वृद्धि भएको छ ।

दिगम्बरपुरमा मात्र सय बिघा भन्दा बढि जग्गामा काउली सहित लगाइएको तरकारीवाली नष्ट हुँदा करिब एक करोड रुपियाँ मूल्य बराबरको क्षति भएको स्थानिय किसानहरु बताउँछन् ।

तरकारीवाली डुबानमा परेर नोक्सान भएको भए पनि तत्काल नयाँ बिरुवा रोप्ने वातावरण नरहेको स्थानीय किसान कृष्ण महतोले बताए ।

दिगम्बरपुरकी गंगावती देवीले बारीमा लगाइएको तरकारी बाली नष्ट भएपछि लागनी सहित वर्षदिनको कमाइ पनि खेर गएको सुनाइन् । काउली, भाण्टा, गोलभेडा र खुर्सानी गरी सबै नष्ट हुँदा जोहो गर्न समेत समस्या भएको बताइन् ।

तरकारीवालीमै निर्भर दिगम्बरपुरवासीको जीवनयापनमा समेत समस्या भएको छ । खेतिपातीबाटै गुजारा गर्दै आएकाले समस्या उत्पन्न भएको उनले बताइन् । यहाँका किसानले उत्पादन गरेको तरकारी ढल्केवर, बर्दिबास, जलेश्वर, महेन्द्रनगर र जनकपुरधाम, उदयपुर, कटारी, बर्दिबास, सिन्धुलीलगायतको बजारमा खपत हुने गरेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!