प्रशोधक डेस्क
जनकपुरधाम, १४ कात्तिक ।
विदेशी नागरिकता ग्रहण गरिसकेका गैरआवासीय नेपालीलाई मताधिकार दिन नसकिने प्रधानमन्त्री शेरबहादुर देउवाले स्पस्ट पारेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएन) युकेद्वारा नेपाली दूतावास लण्डनमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मताधिकारका विषयमा प्रस्ट पारेका हुन् ।
प्रधानमन्त्री देउवाले संविधान परिवर्तन गरेर मात्र विदेशी नागरिकलाई मताधिकार दिन सकिने अवस्था रहेको र त्यो अहिले सम्भव नभएको हुँदा विदेशी नागरिक भइसकेका नेपालीलाई मताधिकार दिन नसकिने बताए ।
जलवायु परिवर्तनसम्बन्धी विश्वसम्मेलनमा भाग लिन ब्रिटेन पुगेका प्रधानमन्त्री देउवाले अप्रवासी नेपालीहरूलाई नेपालमा वैदेशिक लगानी भित्र्याउनमा सहयोग गर्न समेत आह्वान गरे ।
उनले वैदेशिक लगानी गर्नेहरूलाई आवश्यक सुविधा दिन नेपाल सरकार तयार रहेको पनि बताए ।
कोरोना कहरका कारण गत वर्ष रोकिएको अन एराइभल भिसा पर्यटकहरूलाई विमानस्थलमै दिने सुविधा (अन एराइभल भिसा) सरकारले फेरि सुरु गरेको प्रधानमन्त्री देउवाले जानकारी दिए ।
प्रधानमन्त्री देउवा आइतबार अपराह्न जलवायु परिवर्तनसम्बन्धी विश्वसम्मेलन ‘वर्ल्ड लिडर्स समिट’ मा सहभागी हुन स्कटल्याण्ड प्रस्थान गर्नेछन् ।
