प्रशोधक
जनकपुरधाम, १४ मंसिर ।
जयनगर–जनकपुर–कुर्था रेल्वे सञ्चालनको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल धनुषाले प्रदेश २ का प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ ।
ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवमा भारतलगायत विश्वकै श्रद्धालुभक्तजन तथा तीर्थयात्रु जनकपुरधाममा आउने गरेको तर रेल्वे सञ्चालन नहुँदा महोत्सवमा उनीहरूको सहज आवागमन बाधित भएकाले लोसपा धनुषाले जनकपुर रेल्वे तत्काल सञ्चालन गर्न माग गरेको हो ।
लोसपा धनुषाले विवाहपञ्चमीकै अवसर पारेर रेल्वे सञ्चालन गर्न माग गरेको छ ।
ज्ञापनपत्रमा सबैथोक तयारी अवस्थामा रहे पनि राज्यको वक्रदृष्टिका कारण रेल्वे सञ्चालन नभएको र यसले जनकपुरधामको समग्र विकास प्रभावित भएको उल्लेख छ ।
जनकपुर रेल्वे सञ्चालन भएमा जनकपुरधाम नेपालकै व्यापारिक केन्द्र बन्ने, रोजगारको अवसर सिर्जना हुने, पर्यटन विकास हुने, उद्योगधन्दा खुल्ने, यातायात आदिको केन्द्र बन्ने निश्चित हुँदाहुँदै पनि रेल्वे सञ्चालनमा जानाजान अटेर भइरहेको र इन्जिन, बोगी, ट्रयाक आदि बिग्रन थालेकाले आफूहरूको त्यसतर्फ ध्यानाकर्षण भएको ज्ञापनपत्र दिन पुगेका लोसपा नेताहरूले बताए ।
रेल्वे सञ्चालन नभए अन्य दबाबमूलक कार्यक्रम गर्ने पनि ज्ञापनपत्रमा उल्लिखित छ ।
ज्ञापनपत्र बुझाउनेहरूमा उमेशकुमार मण्डल, सञ्जयकुमार चौधरी, सञ्जयकुमार सिँह, धीरेन्द्रबहादुर सिँह, रामप्रसाद गिरी, सतिशलाल दास, विभा ठाकुरलगायतका नेता छन् ।
