प्रशोधक डेस्क
जनकपुरधाम, ११ कात्तिक ।
बलिउड एक्टर शाहरुख खानका छोरा आर्यन खानलाई आज ठूलो राहत भएको छ ।
उनको जमानत याचिकामाथि लगातार तीन दिनसम्म सुनुवाइ गर्दै बाम्बे उच्च अदालतले उनलाई बेल दिने फैसला गरेको छ । आर्यन खानसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचाले पनि बेल पाएको छ ।
आर्यन खान ड्रग्स केसमा २५ दिनपछि बेल पाएका हुन् । यद्यपि उनी आज राति भने जेलमै बस्नेछन् । अदालतको फैसलासम्बन्धी पत्र समयमै नआएकाले आर्यन, अरबाज र मुनमुनलाई आजको रात जेलमै कटाउनुपर्ने भएको हो ।
तीनैजना शुक्रबार वा शनिबार जेलबाहिर आउनेछन् ।
यसअघि सेशंस कोर्टले दुईपटक आर्यनको जमानत याचिका खारेज गरेको थियो ।
शर्तका साथ जमानत
बाम्बे उच्च अदालतले आर्यनलाई सशर्त जमानत दिएको छ । जसअनुसार आर्यनलाई कोर्टसामु आफ्नो पासपोर्ट समर्पण गर्नुपर्नेछ ।
अदालतको इजाजतबिना वा एनसिबिको नभनीकन् आर्यन देशबाहिर जान पाउँदैनन् । उनले लागुऔषध मुद्दाका अन्य आरोपीसँग भेटघाट वा कुराकानी गर्न पाउन सक्ने छैनन् । अदालतमा विचाराधीन मुद्दामा समेत उनले टिप्पणी गर्न पाउँदैनन् ।
आर्यनलाई नारकोटिक्स कन्ट्रोल ब्युरोले गत अक्टोबर २ तारेखका दिन मुम्बईको इन्टरनेसनल क्रुज टर्मिनलबाट पक्राउ गरेको थियो ।
मुम्बईबाट गोवा जाँदै गरेको क्रुजसिपमा हुने लागुऔषध पार्टीमा सामेल हुन आर्यन गइरहेका थिए । आर्यनसँग लागुऔषध बरामद गरिएको छैन ।
तर, एनसिबिले भने उनी अन्तर्राष्ट्रिय लागुऔषध ओसारपसार गर्ने गिरोहको हिस्सा हुन सक्ने जनाएको छ ।
