प्रशोधक
सप्तरी, १३ मंसिर ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले शिक्षा क्षेत्रमा गरिने लगानी देशको भविष्य निर्धारण गर्ने हुँदा शिक्षा क्षेत्रमा बजेटवृद्धि र त्यसको सदुपयोग प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले सप्तरीको तिरहुत गाउँपालिका वडा नं ४ स्थित माध्ययमिक विद्यालयमा निर्माण गरेको दुईकोठे भवनको सोमबार उद्घाटन गर्दै मन्त्री साहले संवैधानिक व्यवस्था र संघीय कानुनमा अस्पस्टताका कारण माध्यमिक तहको शिक्षा व्यवस्थापनमा प्रदेश सरकारको समग्र र पूर्णकालीक सहभागिता कठिन रहेको उल्लेख गरे ।
उनले भने, ‘माध्यमिक शिक्षाको रेखदेख र व्यवस्थापनमा प्रदेश सरकारको भूमिकालाई अस्वीकार गरिएको छ । तर, शिक्षाक्षेत्रको अस्तव्यस्तता र बेथितिलाई प्रदेश सरकार टुलुटुलु हेर्न सक्दैन । त्यसैले विद्यालयको पूर्वाधार विकास र स्तरोन्नतिबाट सरकारले कार्यारम्भ गरेको छ ।’
उनले योजनाको शिलान्यासभन्दा पनि उद्घाटनको क्षण महत्वपूर्ण रहेको औंल्याउँदै कार्यसम्पन्नताबाट मात्र विकासको अनुभूति जनताले पाउने थप्दै दिगो र गुणस्तरीय कामबाट मात्र जनहित हुने हुँदा आफूले त्यसका लागि सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिँदै आएको बताए ।
मन्त्री साहले प्रदेशमा योग्य र दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले शैक्षणिक संस्था सञ्चालनका लागि कानुनी र भौतिक पूर्वाधार तयार गर्ने कार्यलाई तीव्रता दिएको जानकारी दिए ।
नवनिर्मित दुईकोठे भवनमा प्राविधिक कक्षाहरू सञ्चालन हुनेछन् ।
तिरहुत गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मनोजकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा तिरहुत गाउँपालिका अध्यक्ष हेमन्तकुमार बहरखेर, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव, प्रदेश उद्योग,वन पर्यटन तथा वातावरण मन्त्रालयका उपसचिव हेमन्त साहलगाायतको सहभागिता थियो ।
