अहिलेका


प्रदेश २ सरकारको अस्पताल : जसले सिरहालाई अब्बल बनायो

सिरहा, २१ कात्तिक ।

जिल्ला अस्पताल सिरहा परिसर । अचानक भेटिए अस्पताल विकास समितिका अध्यक्ष शैलेन्द्र ठाकुरसँग । दोस्रो पुस्ताका राजनीतिकर्मी रहेछन् । निकै प्रखर, प्रतिभाशाली र दूरद्रष्टा । मिहिनेती र मिलनसार पनि । उनका पिता भोगेन्द्र ठाकुर सद्भावना पार्टीको केन्द्रीय राजनीतिमा प्रभावशाली ठाउँ ओगटेका थिए । त्यसलाई भने पछिल्ला समयमा शैलेन्द्रले निरन्तरता दिए ।

प्रदेश २ का सरकारी अस्पतालहरूमध्ये सिरहा अस्पताल अब्बल भयो केही दिनअघि । प्रदेश सरकारले जनकपुरधाममा आयोजित एक कार्यक्रममा प्रदेशका उत्कृष्ट अस्पताल ठहर गरी सिरहा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई प्रशस्तिपत्रले सम्मानित गरेको छ । प्रदेश सरकार मातहतका अस्पतालहरूलाई साधनस्रोत सम्पन्न बनाई र सेवामा प्रभावकारिता ल्याउने प्रदेशका सामाजिक विकास मन्त्रीको प्रतिबद्धता सिरहा अस्पतालमा सफलीभूत भएको छ ।

प्रदेश सरकार मातहतका अस्पतालहरूलाई साधनस्रोत सम्पन्न बनाई र सेवामा प्रभावकारिता ल्याउने प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रतिबद्धता सिरहा अस्पतालमा सफलीभूत भएको छ ।

गत वर्ष असारमा शैलेन्द्रले अस्पताल विकास समिति अध्यक्षका रूपमा कार्यभार सम्हाले । त्यतिबेला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्रप्रसाद यादव आफ्नो बुताले अस्पतालको रुग्न स्वाथ्य सुधार गर्न भरमग्दुर प्रयत्न गरिरहेका थिए । तर चिकित्सा व्यवस्था सञ्चालन, साधनस्रोत तथा जनशक्ति व्यवस्थापन र जनसम्पर्कजस्ता अत्यावश्यक काम गर्ने आधिकारिक संयन्त्र नहुँदा उनलाई पनि सकस परिरहेको थियो । त्यति नै बेला अस्पताल भित्रिएका शैलेन्द्रको जिम्मेवारीमा अस्पतालको पुरानो र थोत्रो तस्बिर फेर्ने चुनौती आइपरेको थियो ।

अस्पतालका पुराना भवनहरू जीर्णशीर्ण थिए । प्रयोग गर्न नसकिने । प्रयोगमा रहेकाहरू पनि केही समयभित्रमै भत्काउनुपर्ने । नयाँ भवनको संरचना पनि बढीभन्दा बढी सेवा सञ्चालन गर्ने दृष्टिले बनाइएको थिएन ।

कोभिड कहरका बेला अध्यक्ष बनेका शैलेन्द्रले पहिलो प्राथमिकता अस्पतालको सरसफाइलाई दिए । फोहोरमैलाको थुप्रो, दुर्गन्धित वातावारण र अटेसमटेस गरी राखिएका सरसामग्री मधेसका अस्पतालमा देखिने सामान्य दृश्य हुन् । उनले यस अवस्थामा परिवर्तन ल्याए । सफाइकर्मीहरूलाई निरन्तर काम गर्न उत्साहित र प्रेरित गरे । फलस्वरूप सबैभन्दा पहिले अस्पताल सफासुग्घर देखिन थाल्यो ।

उनको अर्को चुनौती थियो, सेवा विस्तार । सामान्य रोगव्याधि लागेकाहरूलाई पनि उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल वा विराटनगरस्थित अस्पताल पुग्नुपर्ने बाध्यता चिर्न उनले उपकरण र जनशक्तिको व्यवस्थापन गर्दै क्रमिक रूपमा १५ बेडको एचडियु, १० बेडको आइसियु, ७ बेडको एनआइसियु सञ्चालनमा ल्याए ।

अध्यक्ष शेलेन्द्रले अस्पतालको मुख्य नयाँ भवनको आन्तरिक संरचनामा हेरफेर गरी सेवावृद्धिका लागि एकाइहरू बनाए ।

कुनै बेला आकस्मिक र ओपिडीलगायत सामान्य चिकित्सा प्रदान गरिने अस्पतालमा अहिले हेमोलाइलाइसिस, फिजियोथेरापी, ब्लडबैंक, पिसिआर परीक्षण, डेन्टल, अक्सिजन प्लान्टजस्ता सेवा उपलब्ध छन् ।

प्रदेश सरकार, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय सिरहा, सिरहा उद्योग वाणिज्य संघलगायतका संस्थाहरूसँग समन्वय गरी अस्पतालको भौतिक पूर्वाधारमा सुधार गरिँदैछ । सेवा थप्न उपकरण र जनशक्ति थप्ने  प्रयत्न गरिँदैछ ।

‘म अध्यक्ष भएको बेला अस्पतालमा ६७ कर्मचारी थिए, अहिले त्यसमा बढोत्तरी भएर एक सय ३९ पुगेको छ । १३–१४ जना बिरामी दैनिक आउने गरेकोमा त्यो सँख्या सयको हाराहारीमा पुगेको छ,’ शैलेन्द्रले भने, ‘मेसुसहित हाम्रो टोलीको निरन्तर प्रयासबाट अस्पतालप्रति सेवाग्राहीको विश्वास र भरोसा बढेको छ ।’

अस्पतालले दुई सिफ्टमा डायलासिस सेवा दिइरहेको छ । जसबाट चारजना लाभान्वित हुन्छन् । दुईवटा डायलासिस मेसिनबाट सेवा दिइएको छ । अस्पताललाई कम्तीमा पाँचवटा डायलासिस मेसिनको आवश्यकता छ । डाइलासिस सेवा सञ्चालन गर्न पनि अस्पतालले पाँचवटा मेसिन ल्याउने कागजी प्रतिबद्धता जनाएपछि मात्र संघीय मन्त्रालयले सेवा प्रदान गर्ने अनुमति दिएको थियो ।

४० बेडको कोभिड अस्पतालका लागि भौतिक पूर्वाधार तयार गरिँदैछ । पाइपलाइनबाट ७५ जना बिरामीसम्म अक्सिजन पुर्याउने दुईवटा अक्सिजन प्लान्ट अस्पतालमा सञ्चालित छ । ती प्लान्टबाट २४ घन्टामा ३५ सिलिन्डर मेडिकल अक्सिजन उत्पादन गर्ने क्षमता छ । जिल्ला प्रशासन कार्यालय सिरहाले अस्पतालकै प्रयोजनका लागि अक्सिजन रिफिलिंग प्लान्टका लागि टेन्डर गरिसकेको छ ।

प्रदेशभरिमै अस्पतालले सञ्चालन गर्ने ब्लडबैंक भएको ठाउँ सिरहा अस्पताल हो । अस्पताललाई सिटी स्क्यानको आवश्यकता छ । जसका लागि संघीय स्वास्थ्य मन्नत्रालय, प्रादेशिक अस्पताल आदिसँग माग गरिएउको छ ।

केही महिनाभित्रमै अस्पताल विकास समिति अध्यक्षको कार्यकाल सकिँदै गरेका शैलेन्द्रले भने, ‘अस्पताल स्तरोन्नतिको एउटा ठोस आधार तयार भएको छ । तर, गर्नुपर्ने भने धेरै छन् । सिरहा पनि केही कुरा उत्कृष्ट छ भन्ने प्रमाणित गरेकामा सन्तुष्ट छु ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!