जनकपुरधाम, २३ असोज ।
अरू पार्टी परित्याग गरेर जसपा नेपालमा प्रवेश गर्नेहरूलाई पार्टीका नेता तथा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले स्वागत गरेका छन् । शनिबार जनकपुरधामको मत्स्यपालन केन्द्रस्थित सभाकक्षमा आयोजित समारोहमा सयौ व्यक्ति जसपा नेपालमा प्रवेश गरेका हुन् ।
त्यस अवसरमा अर्थमन्त्री साहले प्रदेश २ संघीयताको जननी रहेको बताउँदै यस प्रदेशलाई बदनाम गराउन र अन्ततः संघीयता नै समाप्त पार्न विभिन्न तत्वहरूले चलखेल गरिरहेको बताए । उनले ती संघीयताविरोधी तत्वबाट सतर्क रहँदै तिनीहरूलाई परास्त गर्न आह्वानसमेत गरे ।
पार्टीका धनुषा जिल्ला कार्यसमिति उपाध्यक्ष शम्भुप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य रामअशीष यादव, उर्मिला साह, पार्टीका प्रदेश सदस्य विजयकुमार भगत, दिपु कापरी, मो. सदाम हुसेन, वसिम अकरम, रामशंकर पासवान, महोत्तरी जिल्लाकी मिनु झा, मिनाक्षी पाण्डे, ममता पाठकलगायतको उपस्थिति थियो ।
