काठमाडौं, १९ कात्तिक ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) एमसीसीका लागि राष्ट्रिय सहमतिबिना पारित गर्न नसकिने भन्दै थप समयका लागि अमेरिकालाई चिठी लेखेको बताएका छन् ।
उनले सम्झौता पारित गर्छौं भनेर अमेरिकालाई चिठी नलेखिएको प्रस्ट्याए ।
ललितपुरको खुमलटारस्थित देउसीभैंलो टोलीलाई सम्बोधन गर्दै दाहालले एमसीसी पारित गर्न राजनीतिक दलहरूसँग छलफल आवश्यक रहेकाले त्यसबारे जानकारी गराउन चिठी लेखिएको बताए ।
स्कटल्यान्डको ग्लास्गोमा भएको कोप–२६ मा सहभागी भएर स्वदेश फर्केका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दाहाल र आफूले एमसिसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।
प्रचण्डले काँग्रेस सभापति देउवाको सो भनाइलाई खण्डन हुनेगरी स्पस्टीकरण दिएका हुन् ।
उनले भने, ‘देशका सबै दलहरूसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ भन्ने उपाय निकाल्छौं भनेर लेखिएको चिठी हो ।‘
उनले एमसिसी पास गर्छौं भनेर चिठी नलेखिएको दाहोर्याए ।
अमेरिका, बेलायत वा विश्वका जुनसुकै देशको सहयोग लिनु सामान्य विषय भएको दाहालले बताए ।
उनले एमसिसीको ओरिजिनल सहमतिसँग गराउनुपर्ने स्थिति नभएको र बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने आमजनतालाई लागिसकेपछि त्यस लाई संशोधन नगरीकन पास गर्न नसकिने उल्लेख गरे ।
