अहिलेका


सद्भावको नमुना : मुसलमानले लगाए दसैं टीका

विजय कुमार
जनकपुरधाम, २९ असोज ।

सँस्कृति र परम्परा आदानप्रदान हुँदै आएको नेपालको विविधतापूर्ण समाजमा इस्लाम धर्मावलम्बीहरूले पनि दसैंको टीका लगाएका छन् ।

पर्वते र खासगरी बाहुनक्षत्री समुदायमा प्रचलित दसैंको टीका परम्परा मधेसी समाजमा भित्रिएपछि धनुषामा हिन्दु धर्मावलम्बी मधेसीलिे इस्लाम धर्मावलम्बी मधेसीलाई टीका लगाएका छन् ।

जिल्लाको धनुषाधाम– ५ नौसयबिघामा शुक्रबार हिन्दु–मुस्लिमले एकअर्कालाई टीका लगाएर दसैंको शुभकामना आदानप्रदान गरेका छन् ।

शुक्रबार दसैंको टीका लगाउने शुभसाइत जुराएर नौसयबिघाका स्थानीयले “समाजिक सद्भाव संस्कार” नारा दिएर आयोजना गरेकोे वृहत् टीका कार्यक्रममा दुवै समुदायका व्यक्तिहरूले दसैंको टीका लगाएर शुभकामना आदानप्रदान गरेका हुन् ।

वृहत् टीका तथा शुभकामना आदानप्रदान कार्यक्रममा धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले कार्यक्रममा सहभागीहरूलाई टीका र जमरा लगाई दसैंको शुभकामना दिए ।

कार्यक्रममा करिब तीन सयजनाको उपस्थिति थियो । जसमा लगभग ६० जना मुस्लिम समुदायका व्यक्तिले दसैंको टीका लगाएका थिए । नौसयबिघा गाउँमा दुई सय घर मुस्लिम समुदायको बसोबास छ ।

धनुषाधाम नगरपालिकाका प्रमुख मण्डलले एक समुदायले मान्दै आएको धर्म, सँस्कृति र परम्परालाई अर्को समुदायले सम्मान गर्नुपर्ने बताए । उनले सामाजिक भाइचारा र सद्भाव कायम राख्न यस्तो कार्यक्रम भइरहनुपर्ने उल्लेख गरे ।

उनले नगरपालिकामा पहिलोपटक गरिएको सामाजिक सद्भाव अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

कार्यक्रमका संयोजक शंकर यादवले पहाडी समुदायले मात्र मान्दै आएको टीका लगाउने चलन मधेसी तथा अन्य समुदायमा ल्याउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!