अहिलेका


सबै नागरिकलाई निःशुल्क खोप देऊ सरकार : चिकित्सक संघ

जनकपुरधाम, १० असोज ।

नेपाली चिकित्सकहरूको संस्था नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा जनशक्ति सबल, सक्षम र चुस्त स्वास्थ्य प्रणालीको मेरुदण्ड भएकाले, यसको व्यवस्थापन र वृत्तिविकासका लागि स्वास्थ्य सेवा ऐनमा परिमार्जन गरी चिकित्सक ऐनको विकास गर्नुपर्ने ठहर गरेको छ । संघको पहिलो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन २०७८ ले सो ठहर गरेको हो ।

गत शनिबार सम्पन्न सम्मेलनले जारी गरेको बाह्रबुँदे घोषणापत्रमा कोरोना महामारी पुनः फैलिन सक्ने तथा भविष्यमा अन्य महामारी आउँदा पूर्वतयारी र प्रतिकार्यका लागि सक्षम जनशक्तिको आवश्यक रहेको निश्कर्षसमेत निकालेको छ ।

घोषणापत्रमा नेपालमा कोभिड–१९ को जोखिम कायमै रहेको र यसको असर स्वास्थ्य र गैरस्वास्थ्य क्षेत्रमा गम्भीर रूपमा परिरहेकाले जेष्ठ नागरिक, बालबालिका, गर्भवती र अग्रमोर्चामा रहेर कार्य गरिरहेकामा विशेष असर पारेको उल्लेख छ ।

कोभिड–१९ को महामारीका कारण ज्यान गुमाउन बाध्य भएका सम्पूर्णमा हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घोषणापत्रले अहिलेको विषम परिस्थितिमा आफू र आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत महत्वपूर्ण योगदान दिने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गरिएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘कोभिड–१९ महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्षीय सहकार्य अपरिहार्य छ । तसर्थ हामीले वर्तमान अवस्थालाई पार लगाउन र भविष्यमा आइपर्ने महामारीमा स्वतः परिचालन हुनेगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै नेतृत्वमा बहुपक्षीय संयन्त्रको निर्माण हुनुपर्छ । माहामारी प्रक्षेपण तथा निगरानीको निकाय बनाउन जरुरी छ । स्वास्थ्य प्रणाली तथा समग्र स्वास्थ्य क्षेत्रलाई नै मजबुत बनाउन आजकै दिनबाट नेपाल चिकित्कस संघले अझ बढी संवेदनशील र जागरुक भई अन्य सहयोगी संस्था, व्यक्ति र सरकारलाई साथमा लिएर नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।’

.‘कोभिड–१९ जस्तो विश्व महामारीको समयमा आफ्नो क्षमता विकास नभएका कारणले गर्दा नै सामान्यभन्दा सामान्य चिकित्सकीय वस्तु तथा सामाग्रीको प्राप्तिका लागि नेपालले कति संघर्ष गर्नुपरेको छ भन्ने हामी सबैलाई थाहा भएकै विषय हो । तसर्थ, भविष्यमा आइपर्ने अन्य महामारीको तयारी गर्दा हामीलाई आवश्यक पर्ने सामाग्रीमा आत्मनिर्भर हुने अवस्था सिर्जना हुनुपर्छ भन्ने नेपाल चिकित्सक संघको ठहर छ । त्यसैले स्वास्थ्यसँग सम्बन्धित सामाग्रीको स्वदेशमै उत्पादन गर्नका लागि संघका तर्फबाट आवश्यक प्राविधिक तथा नीतिगत सहयोग गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ,’ घोषणापत्रमा उल्लेख छ ।

महामारीको समयमा सम्पूर्ण नागरिकलाई न्ययोचित रूपमा निःशुल्क खोप उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको र यसका साथसाथै अन्य देशले सहयोग गरेको तथा खरिद गरिएका खोपको उचित भण्डारण र समतामूलक पहुँचको सुनिश्चितता गरिनुपर्ने आग्रह गरिएको घोषणापत्रमा सरकारले नेपालमा नै खोप उत्पादन गर्न सक्ने विषयमा सम्भाव्यता अध्ययनलगायत थप पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

भविष्यमा खोप वा अन्य औषधिको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने कानुनको निर्माण आजकै दिनबाट सुरु गर्नुपर्ने भन्दै घोषणापत्रमा भोलिका दिनमा कुनै पनि कानुन महामारीविरुद्ध लड्नका लागि बाधक नहुन् बरु सहयोगी बनुन् भन्ने थपिएको छ । चिकित्सकहरूले त्यसका लागिे अवस्थामा सुधार गर्नुपर्ने धेरै कार्यमा आफूहरूले पनि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

संघीय संरचनामा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्दै जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न तीनै तहका सरकारबीच पर्याप्त समन्वय र सहकार्यलाई अझै बलियो बनाउँदै अघि लानु पर्ने हाम्रो ठहर गरिएको घोषणापत्रमा त्यसका लागि कुशल नेतृत्व विकासलगायत हरेक तहका सरकारको भूमिकाको स्पष्टता र यसका लागि चाहिने स्रोत र साधनको सुनिश्चितता गरिनुपर्ने उल्लेख छ ।

नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ र सबल बनाउनका लगि अन्वेषण र अविष्कारलाई सबै मिलेर प्रवद्र्धन गर्नुपर्ने र .महामारीमा सूचना प्रणालीलाई अझ वैज्ञानिक तथा प्रभावकारी बनाउँदै तथ्य र प्रमाणमा आधारित नीतिको विकास गरिनुपर्ने अपेक्षासमेत प्रकट गरिएको छ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!