बाँके, ८ कात्तिक ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने बताए ।
नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफ्नो समूहबाट अन्य नेताले सभापति पदको प्रत्याशी हुने आकांक्षा राखे पनि अन्तिममा एकजनाकै नाममा सहमति हुने प्रस्ट्याए ।
वरिष्ठ नेता पौडेलले आफु १३ औं महाधिवेशनमा पनि उम्मेदवार भएकाले यसपटक आफ्नो समूहबाट आफू नै सर्वसम्मत उम्मेदवार बन्ने आसा व्यक्त गरे ।
उनले भने, ‘आकांक्षी धेरै साथी हुनुहुन्छ तर सबै साथीसँग छलफल गरेर एउटै उम्मेदवार टुंगो लगाउनेछौं ।’
उनले निर्धारित समयमा अधिवेशन नहुँदा पार्टी संकटमा पर्न सक्ने बताए । ‘पार्टी अधिवेशन समयमै गरौं भनेर मैले दसैंअगाडि नै कार्यसमिति बैठक बोलाउनुस् भनेको हुँ, तर अहिलेसम्म कार्यसमिति बैठक बस्न सकेको छैन,’ पौडेलले गुनासो गरे ।
काठमाडौं फर्केर आफूले त्यस विषयमा पार्टी सभापति देउवाको ध्यानाकृष्ट गर्ने उनले बताए ।
कम्युनिष्ट पार्टीको नेतृत्वले राम्रो काम नगर्दा र मुलुकलाई अधिनायकवादतर्फ लैजाँदा सरकारलाई हटाउन बाध्य भएको बताउँदै वरिष्ठ नेता पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा विगतका गल्तीलाई दोहोर्याउन नहुने बताए ।
