सर्लाही :
मलको अभावका कारण सर्लाहीमा आलु उत्पादन घटेको छ । उत्तरपश्चिम क्षेत्रमा व्यावसायिक आलु खेती गर्दै आएका किसानले रासायनिक मलको अभावमा आलु उत्पादन दोब्बर भएको बताएका छन् । बरहथवा नगरपालिका–१ हजारियाका रामकुमार नेपालले विगतको तुलनामा उत्पादन कम भएकाले उचित मूल्य नपाएको गुनासो गरेका छन् । उनले आलुको बीउ १० रुपैयाँमा किनेको बताए । प्रतिकिलो २५ देखि ३० रुपैयाँमा बिक्री गर्नुपर्छ । छिमेकी मुलुक भारतबाट सस्तो मूल्यका आलु बजारमा भित्रिएकाले स्थानीय उत्पादनले भाउ नपाएको किसानको गुनासो छ। रामकुमारले लामो समयदेखि व्यावसायिक आलु खेती गर्दै आएका छन्। उनले यस वर्ष १५ कठ्ठामा आलु खेती गरेका छन्। उनले व्यापारीलाई प्रतिकिलो १६ रुपैयाँ खेतबाटै बेचेका छ्न्। उनले गत वर्ष १५ कठ्ठामै लगाएको आलुबाट सबै खर्च कटाएर १ लाख २५ हजार रूपैयाँ लिए पनि यो वर्ष भने कमी आएको मूल्य पनि कम हुँदा ९० हजार रूपैयाँमा चित्त बुझाउनु परेको बताए। त्यस्तै‚ बागमती नगरपालिका–६ राजघाटका किसान पनिलाल रामले यो वर्ष आलु खेतीबाट लागत उठाउन समेत मुस्किल परेको बताए। ‘गत वर्ष आलु प्रतिकिलो २० रूपैयाँमा बिक्री गरेका थियौं, यो वर्ष १५ रूपैयाँ बेच्नु पर्यो,’ उनले भने‚ ‘आलु लगाउने समयमा युरिया मल नपाएपछि चोरी तस्करी गरेर ल्याएका गुणस्तरहीन मल प्रतिबोरा १ हजार ३०० देखि १ हजार ५०० रूपैयाँसम्म किनेर हालेका थियौं। महँगीको बीउ र मल हालेर फलाएको आलुले उचित मूल्य पाएनौं।’ सर्लाहीको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुरलगायत क्षेत्रमा व्यावसायिक आलु खेती हुने गरेको छ। यस क्षेत्रमा लालगुलाव, कुप्रीसिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ। जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर १ हजार ४०० हेक्टरमा आलु खेती हुन्छ। शीत भण्डार नहुँदा भाउ राम्रो नपाएको किसानहरुको भनाइ छ। यहाँ उत्पादन भएको आलु मलंगवा, बिरगंज, रौतहटको चन्द्रपुर, बाराको कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको बरहथवा–२ हजरियाका महेश बरालले गुनासो गरे।
