जनकपुरधाम, १० कात्तिक ।
प्रदेश २ सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार धनुषाको ढल्केवरस्थित दङ्गा नियन्त्रण प्रहरी गणको निरीक्षण गरेका छन् ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री साहले निरक्षिणक्रममा गणबाट सम्पादन हुने कामकाज र तिनका प्रक्रियाबारे जानकारी लिएका छन् । उनले शान्तिसुरक्षा कायम गर्न दङ्गा प्रहरी नियन्त्रण गणको महत्वपूर्ण भूमिका रहने भन्दै ढल्केवरस्थित गणको भौतिक पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
ढल्केवरस्थित दङ्गा प्रहरी नियन्त्रण गण सडक डिभिजन कार्यालय परिसरमा रहेको छ । त्यस परिसरमा सडकको एउटा एकाइ र नेपाल ईलाका प्रहरी कार्यालय समेत छन् ।
गणको स्वामित्वमा जग्गा नरहेको र अर्के निकायको परिसरमा कार्यालय, ब्यारेक, मेस आदि सञ्चालन गरिरहँदा जनशक्ति व्यवस्थापन तथा परिचालनमा कठिनाइ भइरहेको छ । मन्त्री साहले दङ्गा नियन्त्रण गर्ने प्रहरीले त्वरित काम गर्नुपर्ने हुँदा चुस्तदुरुस्त रहनैपर्ने चुनौती भएकाले भौतिक संरचना निर्माणमा प्रदेश सरकारले सघाउने बताए ।
मन्त्री साहलाई गणपति एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले दङ्गा नियन्त्रण गणको भौतिक, प्रशासनिक एवम् मानव संशाधनका विषयमा मन्त्री साहलाई जानकारी गराएका थिए ।
