सर्लाही, १२ पुस ।
भारतको उत्तरप्रदेशस्थित फिरोजावाद जिल्लाको सिरसागाउँस्थित दुई कोल्ड स्टोर कार्यरत सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ कामत मुसहरी टोलका तीन युवा मजदुरको शंकास्पद मृत्यु भएको छ भने २० युवालाई बन्धक अवस्थामा राखिएको छ ।

मृत्यु भएका युवा मजदुरलाई सिकिस्त अवस्थामा नेपाल पठाइँदा बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् । मृतकहरूको शवपरीक्षण नेपालमै गरिएको छ । पोस्टमार्टम प्रतिवेदनमा मृत्युलाई शंकास्पद भनिएको छ ।
छ महिनाअघि गाउँकै ठेकेदारहरूमार्फत २५—३० जनाको समूहमा रोजगारीका लागि त्यस ठाउँमा पुगेकामध्ये केही भने सुरक्षित गाउँ फिर्ता भएका छन् । फिर्ता भएका नेपाली मजदुरहरूका अनुसार दुवै कोल्ड स्टोरले कामदारहरूलाई पारिश्रमिकसमेत दिएका छैनन् ।
कोल्डस्टोरका साहुका छोराले कामदारहरूलाई चियामा हालेर मनोद्दीपक पदार्थ र रक्सी खुवाएर अतिरिक्त बलले काम गर्ने बनाई भारी काम गराइरहेका नेपाल फर्केका एक युवकले सामाजिक अभियन्ता सरोज रायसँगको कुराकानीमा बताए ।
शंंकास्पद मृत्यु भएकाहरूका बारेमा रक्सी सेवन गर्नाले भएको कोल्डस्टोरले दाबी गरे पनि मनोद्दीपक र रक्सी सेवन गराई निरन्तर काम गराउनाले स्वास्थ्यस्थिति बिग्रेर तथा समयमा उचित उपचार नपाउँदा तीन नेपाली युवा मजदुरको मृत्यु भएको आशंका गरिएको छ ।
घटनाबारे अनुसन्धान गर्नका लागि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयअगाडि दिनहुँ धर्ना दिए पनि जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । बन्धक बनाइएको भनिएका २० युवकको उद्धार तथा नेपाल फिर्ताका लागि पनि सरकारी पहल भएको छैन ।
मृतक सुमन भुजेलकी आमाले छ महिनाअघि आलु भण्डारण हुने कोल्ड स्टोरमा काम गर्न गएका छोराको मृत्यु चियामा नशालु पदार्थ मिसाएर दिँदा तथा रक्सी सेवन गराई काम लिँदा भएको बताइन् ।
उनले घटनाबारे छानबिन गर्न प्रहरीले चासो नलिएको आरोप लगाइन् ।
मृतक जगदीश माझीकी आमाले छोरो भारततर्फ लागेको छ महिनासम्म फोनमा कुरा नभएको र मृत्यु भएको चार दिनपछि मात्र छोरो बितेको खबर आएको बताइन् ।
त्यहाँ बन्धक रहेका रहेको भनिएका सिकिन्दर माझीकी श्रीमतीले ठेकेदारले सात दिनदेखि मोबाइल फोन नियन्त्रणमा लिएकाले छोरासँग कुराकानी हुन नपाएको गुनासो गरिन् । उनले पचास हजार रुपैयाँ दिए मात्रै बन्धक बनाएकालाई फिर्ता बोलाउने ठेकेदारले बताएको जानकारी दिइन् ।
उत्तरप्रदेशका ती कोल्डस्टोरबाट फर्केका प्रमोद माझीले गाउँकै ठेकेदार दाजुभाइ लक्ष्मण र लक्ष्मी राउत, इनरजीत र इन्दल राउत, सुशील राउतले प्रलोभनमा पारेर भारतमा लग्ने गरेका तर त्यहाँका साहुले पारिश्रमिकसमेत नदिने गरेको बताए ।
उनले भने, ‘चियामा मिसाउने ट्याबलेटले गर्दा गहुँगो बोरा उचाल्दा पनि थाहा हुँदैन्थ्यो ।’
भारतका रवि गुप्ताका पर्छेया कोल्डस्टोर तथा बब्बु यादव र महादेव यादवको मलेश्वर कोल्डस्टोरमा आलुका प्रतिबोरा ओसार्न साहुले १३ रुपैयाँ प्राप्त गरे पनि कामदारलाई दुई रुपैयाँ पचास पैसा मात्र दिने गरिएको र त्यसमा पनि ठेकेदार र मुन्सीको भाग लाग्ने गरेको छ । नेपाली मजदुरलाई फिर्ता बोलाउन पहल गरिरहेका स्थानीय रामकृष्ण
माझीले त्यहाँ काम गर्ने मजदुरका परिवारलाई धान वा पैसा दिँदा देउढा लेख्ने अर्थात् चक्रव्रती ब्याजजस्तो असुल्ने गरेको बताए ।
माझीले पैत्रिक सम्पत्ति नभएका ठेकेदारहरूले श्रमिकको शोषण गरेर सात वर्षमा करौडौंको सम्पत्ति जोडेका जनाउँदै सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने बताए ।
