जनकपुरधाम, २ मंसिर ।
नेपाली काँग्रेसको सर्लाही जिल्ला अधिवेशन गर्ने विषयमा मतैक्य नहुँदा दुई पक्षबीच झड्प भएको छ । बिहीबारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा सभापति शेरबहादुर देउवापक्षीय कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय कार्यकर्ताबीच मत बाँझेपछि पार्टी कार्यालय मलंगवामा झडप भएको हो ।
वरिष्ठ नेता पौडेलपक्षीय कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका छन् । निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेपछि अहिले जिल्ला अधिवेशन स्थगित भएको जनाइएको छ ।
सर्लाही जिल्ला अध्यक्ष नागेन्द्र कुमारले वडा अधिवेशन विथोल्ने कार्य गरेकामा भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
दुईपक्षीय छलफल भइरहेका बेला पौडेल पक्षले पार्टी कार्यालयमा घेरा हालेर निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेको सर्लाही जिल्ला अध्यक्ष नागेन्द्र कुमारले विज्ञप्ति जारी गर्दै आरोप लगाएका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ का संघीय संसद् समेत रहेका केन्द्रीय सदस्य अमरेशकुमार सिंहले हातपात गरेको स्थानीय नेताले जनाएको छ ।
कांग्रेसका दुवै पक्षका कार्यकर्ताबीच थप झड्प हुने देखेपछि जिल्लाको सुरक्षाव्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीले जनाए ।
सर्लाहीका २० पालिकाको दुई सय वडामा अधिवेशन गर्ने भनी दुवै पक्षले पूर्वसहमति कायम गरेको थियोे ।
पार्टी जिल्ला अध्यक्ष नागेन्द्र कुमारले विज्ञप्तिमा भनेका छन्, ‘कात्तिक २९ गतेको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा पुनः विवाद झिकेर निर्वाचन कार्यतालिका अवरुद्ध भएपछि पुनः पार्टीका केन्द्रीय सदस्यहरू प्रदेश मन्त्री, माननीयज्युहरू र अन्य नेताहरूका साथ निर्वाचन अधिकृत समेतको उपस्थितिमा वार्ता भइरहेको अवस्थामा अनाधिकृत रूपले बैठककक्षमा प्रवेश गरी निर्लज्जता, उदण्डता पराकाष्ठा हुने गरी निर्वाचन अधिकृतमाथि हातपात गरी उहाँसँग रहेको निर्णयपुस्तिका अन्य कागजातहरू र मोबाइलसमेत लुटी लगेकाले कानुनी राज्यको उपहास भएकाले नेपाली काँग्रेस बिहीबारका दिन भएको घटनाको घोर भत्र्सना गर्दछ ।’
अध्यक्ष आजैका मितिबाट निर्वाचन प्रक्रिया अगाडि बढाउन केन्द्रीय नेतृत्व तथा निर्वाचन समितिसमक्ष आग्रह गरेका छन् ।
’
