अहिलेका


सर्लाही १ : स्वतन्त्र उम्मेदवार सापकोटाका पक्षमा माहोल बन्दै

जयराम थापा
सर्लाही, कात्तिक ३० गते ।
सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बैकुन्ठ सापकोटाले क्षेत्रका जनताका पक्षमा पृथक् तर सही आवाज उठाएकाले उनका पक्षमा जनलहर देखिएको छ ।

उनले हिन्दुराष्ट्र स्थापना र प्रादेशिक संरचना खारेजीका माग गर्दै मतदाताबीच पुगिरहेका छन् । जसलाई स्थानीय मतदाताले व्यापक समर्थनसमेत गरिरहेका छन् ।

 

क्षेत्रका अन्य उम्मेदवारहरू संघीय लोकतान्त्रिक गणतन्त्रका मुद्दामा मत मागिरहेका बेला सापकोटाको उम्मेदवारीका पृष्ठभूमिमा किन फरक मुद्दा आए त ? सापकोटा आफैँ भन्छन्, ‘धर्मनिरपेक्षता र प्रादेशिक संरचना जनआन्दोलनका मुद्दा थिएनन् । तर विभिन्न शक्तिकेन्द्रहरूले चलखेल गरेर यसलाई संसद् घोषणा र संविधानमा ल्याए । यसबाट केही नेताहरूका निहित स्वार्थ पोषण त होला तर समग्रमा देशको हित गर्दैन भन्ने निष्कर्षमा पुगेर मैले यी मुद्दालाई चुनावमा उठाए ।’

सापकोटाका अनुसार बहुसँख्यक हिन्दु धर्मावलम्बी नेपालीहरूका आस्था, विश्वास र परम्परालाई आघात पुग्नेगरी हिन्दुराष्ट्र नेपालको अन्तर्राष्ट्रिय ख्यातिमाथि आघात पुर्याइएको विषयमा मतदाता चिन्तित रहेकाले उनको सूर्यमुखीको फुल बोटलाई मतदान गर्नेछन् ।

संसारमा जनसाँख्यिक बहुलता र त्यहाँका सनातन अभ्यासका आधारमा धार्मिक राष्ट्र कायम हुँदै आएको र पछिल्ला दिनमा धर्मनिरपेक्ष रहेका मुस्लिम बहुल देशहरू निर्वाधपूर्वक आफ्ना धार्मिक मान्यताअनुसार जीवनयापन गर्न इस्लामिक राष्ट्र बन्ने प्रक्रिया सुरु भएको भन्दै उम्मेदवार सापकोटाले नेपाल पुनः हिन्दुराष्ट्रमा परिणत हुनुपर्ने तर्क गरे । उनले भने, ‘हिन्दुराष्ट्रको परिचयले नै विश्व मानचित्रमा नेपाललाई चिनाएको थियो । पूर्वीय ज्ञान र दर्शनको केन्द्रभूमि नेपाल परिचय जनताका मतबाट फर्किनेछ । यसको आरम्भ मेरो विजययात्राबाट हुनेछ ।’

उनले हरेक राजनीतिक दलमा हिन्दुराष्ट्र पक्षधर शक्ति रहेका र ती शक्तिले चुनावमा आफूलाई नै सघाउने दाबी पनि गरे ।
उम्मेदवार सापकोटाले प्रादेशिक संरचना अर्थतन्त्रलाई बोझिलो बनाउने थपना भएको टिप्पणी गरे । उनले प्रादेशिक संरचनाबाट विगत पाँच वर्षमा जनताका पक्षमा के काम भए भन्ने कुराको विश्लेषण र मूल्यांकन गर्ने बेला यो चुनाव नै भएको बताए ।

‘अब हामीले देशमा अनाहक र अनावश्यक संरचनाको बोझ उचाल्न हुँदैन । अत्यावश्यक र उचित संरचनालाई सुदृढ बनाउँदै लग्नुपर्छ,’ सापकोटाले भने, ‘त्यसैले जनता प्रादेशिक संरचना खारेजीका पक्षमा मलाई मतदान गर्नेछन् ।’

उनले केन्द्रीय शासनलाई उत्तरदायी तथा स्थानीय तहलाई सक्षम, सबल र प्रभावकारी बनाउन सकिए देश समृद्धिको बाटोमा अघि बढ्ने जिकिर गरे ।

स्वतन्त्र उम्मेदवार सापकोटाका पक्षमा माहोल बनाउन उनका समर्थक तथा शुभेच्छुकहरूले दिनहुँ घरदैलो गरी मत मागिरहेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!