जनकपुरधाम, १५ कात्तिक ।
न्यायालय सुधारको माग गर्दै एक सातादेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् ।
न्यायाधीशहरु छलफलमा बसेका हुन् । यसअघि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक न्यायाधीशमार्फत सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका थिए ।
न्यायधीशहरुले छलफलको क्रममा प्रधानन्यायाधीशले ग्रेसफुल एक्जिटको प्रस्ताव पठाएपछि न्यायाधीशहरूले वार्ताका लागि तीनजना न्यायाधीशलाई पठाएका थिए ।
न्यायाधीशहरुको एक समूहले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशले खोजेको ग्रेसफुल एक्जिटको बाटोबारे कुराकानी गर्न पठाएका थिए ।
आइतबार तीनजना न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग भेट गरी प्रधानन्यायाधीशको इच्छा र चाहनाबारे छलफल गरेका थिए । करिब ४५ मिनेटको छलफलपछि न्यायाधीशहरु बाहिर निस्किएका थिए ।
सोही छलफलको विषय, प्रधानन्यायाधीशको भनाई र आगामी योजनाबारे धारणा बनाउन न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
न्यायाधीशहरुको बैठकले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने र तर प्रधानन्यायाधीशसँग ‘बेन्च सेयर’ नगर्ने निर्णय गरेका थिए । तर त्यसका लागि प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणको मात्रै पेसी तोक्नुपर्ने र आफूलाई पेसी तोक्न नहुने प्रस्ताव गरेका थिए ।
न्यायाधीशहरुको माग बमोजिम प्रधानन्यायाधीश जबराले सोमबार बन्दी प्रत्यक्षीकरणको मात्रै पेसी तोकेका छन् भने आफ्ना लागि पेसी तोकेका छैनन् ।
