अहिलेका


सहिदका पिताको बिलौना, ‘छोरोको सहादत बिर्से क्यार !’

गोपाल बराल
लालबन्दी (सर्लाही) , ७ फागुन
फागुन सात । जहानियाँ राणाशासन अन्त्य भएका दिन । राजनीतिक दलका वक्तव्यबाजी छापा, विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिँदा छन् । तर, राष्ट्रिय पर्वको यो दिन १० वर्षे माओवादी जनयुद्धमा छोरा गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका–४ हरिभवन करैयाका ७३ वर्षीय वेदराज काफ्लेका आँखा ओभाउन सकेका छैनन् ।

“बेवास्ताको जीवनमा प्रजातन्त्र दिवसको के उल्लास, के खुसी ?” काफ्ले भन्छन् ।

जीवनको उत्तराद्र्धमा सन्तानले दिने सुखका साथ बित्ने सम्झेर काफ्लेलाई झन् रुवाउँछ । “सन्तानको स्याहार पाउनुपर्ने बुढ्यौलीमा पनि धर पाइएन, नातिनातिनाको सिंगान पुछेरै जीवन बित्ने भो,” माओवादी जनयुद्धमा छोरा ठाकुरप्रसाद काफ्ले (रोहित) को सहादतपछि काखको नाति हुर्काउँदै आएका काफ्लेले बलिन्द्र आँसु काढ्दै भने ।

काफ्लेका पुत्र ‘रोहित’ २०६० साल भदौ ३० गते त्यतिखेरको संयुक्त सुरक्षा फौजको कार्बाहीमा धनुषा जिल्लाको जमुनिवासमा मारिएका थिए ।
“उस (रोहित) को भरोसा थियो, यो बुढेसकालको सहारा हुन्छ भन्थ्यौं,” पत्नी गङ्गा काफ्लेतिर हेर्दै उनले भने, “हाम्रो सहारा के हुन्थ्यो ? हाम्रो काखमा काखेशिशु छाडेर उही अघि लाग्यो ।”

भर्खरै जन्मेको छोराको न्वारान गरेर हिँडेका रोहित घर फर्किएनन् । सरकारी फौजको कारबाहीमा छोरो परेपछि बालख नाति हुर्काउने र बुहारीको हेरचाहको जिम्मेवारी बोक्नु परेको काफ्ले दम्पतीको वेदना छ ।

माओवादी जनयुद्धका सहिद ठाकुरप्रसाद काफ्ले (रोहित) को स्मारकसँगैको प्रतीक्षालयसहितको टावर ।

रोहितको सम्झना जिउँदो राख्ने रहरले प्रतिमा बनाइए पनि प्रतिमास्थल (स्मारकस्थल) असुरक्षित र अस्तव्यस्त देख्दा मन कटक्क खाने गरेको उनले बताए ।

अहिले केन्द्र र प्रदेश दुवै ठाउँका सरकारमा रोहितको पार्टी (हालको नेकपा माओवादी केन्द्र) छ, यो बेला नभए कहिले हुने ?,” काफ्लेले प्रश्न गरे । उनको बिलौना छ, “लाग्छ, ठाउँमा पुगेपछि नेताहरूले हाम्रो छोराको सहादत बिर्से क्यार ?” जनयुद्धका सहिद भनेपछि सरकारले त्यसको परिचयपत्र र आश्रित परिवारजनको जीवन गुजारामा सहयोग पुग्नेगरी केही रोजगारी दिनुपर्ने काफ्ले परिवारको आस अझै पुरा भएको छैन ।” 

आफूहरूलाई चित्त बुझे नबुझे पनि देशका लागि भन्दै छोराले दिएको सहादतलाई सधैं सम्झनामा राख्न काफ्लेले तीन लाख रुपैयाँ खर्चेर रोहितको प्रतिमा बनाए । सो प्रतिमा उनकै बस्तीको चोकमा निर्मित स्मारकमा राखियो ।

तीन वर्षअघि २०७५ सालको फागुन १ गते जनयुद्ध दिवसका दिन तत्कालीन नेकपाका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले प्रतिमा अनावरण गर्दा हजारौं मानिसको सहभागिता हेर्दा गर्वित भएको काफ्लेको मन अहिले स्मारकस्थलको बिजोगले छियाछिया भएको छ ।

रोहितको स्मारकस्थलसँगै जोडेर निर्माण भएको प्रतीक्षालयसहितको टावर मर्मतसम्भार नहुँदा अब ढल्ने हो कि भन्ने अवस्थामा पुगेको उनले बताए ।

“हेर्नोस् न, कुनचाहिँले प्रतिमाको नाकको टुप्पो नै फुटाइदिएछन्,” स्मारकस्थलमा नाकको टुप्पो फुटेको सञ्चारकर्मीलाई देखाउँदै काफ्लेले भने, “स्मारकस्थलमा घेराबेरा छैन, वरिपरि फोहर थुप्रिदैछ , मन थामिदैन , के गरौं ?” घेराबेरासहितको सफासुग्घर स्मारकस्थल हेर्ने आफ्नो घिडघिडो कहिले र कसले पुरा गरी देलान् भन्ने पर्खाइमा सिङ्गो परिवार रहेको उनले बताए ।

“अहिले केन्द्र र प्रदेश दुवै ठाउँका सरकारमा रोहितको पार्टी (हालको नेकपा माओवादी केन्द्र) छ, यो बेला नभए कहिले हुने ?,” काफ्लेले प्रश्न गरे । उनको बिलौना छ, “लाग्छ, ठाउँमा पुगेपछि नेताहरूले हाम्रो छोराको सहादत बिर्से क्यार ?” जनयुद्धका सहिद भनेपछि सरकारले त्यसको परिचयपत्र र आश्रित परिवारजनको जीवन गुजारामा सहयोग पुग्नेगरी केही रोजगारी दिनुपर्ने काफ्ले परिवारको आस अझै पुरा भएको छैन ।

“तीन वर्षअघि प्रतिमा अनावरण गर्दै नारायणकाजी श्रेष्ठले ‘तपाईँको छोराको ठाउँमा हामी छौं’ भन्नुभएको थियो,” काफ्ले पुरानो कुरा सम्झँदै भने, “त्यो कुराले चित्त बुझाउन ढाडस दिएको थियो, तर त्यसपछि कोही फर्की आउनु भएको छैन ।”

न्वारानका दिन बाबुले छाडेर गएको छोरा नेत्रप्रसाद (विश्वराज) काफ्ले अहिले १८ वर्षको भयो । काफ्ले परिवारमा रोहितपत्नी (बुहारी) सीता, नाति (रोहितको छोरा) विश्वराज, कान्छा छोरा/बुहारी र नाति अनि आपूm बुढाबुढीसहित सात जनाको परिवारको गुजारा चार कठ्ठा जग्गाले गर्न धौधौ परेको ७३ वर्षीय काफ्लेले बताए ।

“अब गतिलो भएर खेतीपातीका काम गर्ने उमेर रहेन, जहान परिवारले खानै नपाएका अवस्था हेर्न सकिँदैन, के गरौ ?,” काफ्ले उदविग्न हुँदै भने, “हेरविचार गर्न कोही आउने आस अझै मरेको छैन, त्यही आसले पनि बाँच्न सिकाउँदोरहेछ ।”

प्रतिमा बनाउन लागेको ऋण आफ्नै थाप्लामा अझै रहेको काफ्लेको कथन छ ।

सहिद ठाकुरप्रसाद काफ्ले (रोहित) को स्मारक

जनयुद्धका सहिदको स्मारकस्थलको रुग्ण अवस्थाले परिवारजनमात्र नभएर हरिभवनवासी नै चिन्तित छन् । “हामी स्मारकस्थलको बिजोग अवस्थाले चिन्तित छौं, कसैले त यसमा पहलकदमी लिई दिउन्,” हरिभवनका बासिन्दा ७८ वर्षीय होमप्रसाद बरालले भने, “यो स्मारकस्थल चारैतिर घेराबेरा भएर सफासुग्घर देखिनसँगै वरिपरि फुल ढकमक्क फक्रेको हेर्ने रहर छ ।”

स्मारकस्थल र सोही स्थलसँग जोडेर निर्माण भएको प्रतीक्षालयसहितको टावरको घेराबेरा र मर्मतसम्भारको काम सम्बद्ध निकायले तत्काल थालिदिन ७८ वर्षीय बरालको आग्रह छ ।

लालबन्दी–४ का वडाअध्यक्ष सोमनाथ बराल तीन वर्षअघि प्रतिमा अनावरण समारोहमा माथिका नेताहरूले नै केही हुने/गर्ने आश्वासन दिएपछि स्थानीय तहबाट यसबारे पहलकदमी नभएको बताए । स्मारकस्थलको सौन्दर्यीकरण र सहिद परिवारको भरणपोषणबारे सङ्घीय र प्रदेश सरकारले नै ठोस नीति अख्तियार गर्नुपर्ने वडाध्यक्ष बरालको मत छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!