अहिलेका


सांगठनिक मतले सर्लाही २ मा महतोको अवस्था मजबुत

प्रशोधक समाचारदाता
जनकपुरधाम, कात्तिक २९ गते ।
सर्लाही क्षेत्र नम्बर २ का मतदाता उम्मेदवारहरूलाई लिएर स्वाभाविक रूपमा विभाजित छन् । तर सबैभन्दा बढी अलमलमा पाँचदलीय गठबन्धनका शुचेच्छुक र समर्थक छन् । उनीहरू भन्छन्,‘असमञ्जस भनेकै गठबन्धनका नाममा क्षेत्रका दुईजना प्रतिनिधिसभा उम्मेदवारमध्ये मतदान कसलाई गर्ने भन्ने हो ।’

क्षेत्रमा पाँचदलीय गठबन्धनका आधिकारिक उम्मेदवार नेकपा माओवादी केन्द्रको चुनावचिह्नबाट महिन्द्रराय यादव छन् । तर, जिल्लास्थित काँग्रेसको संस्थापन पक्षले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई सघाइरहेका छन् । महिन्द्रसँग एउटा प्रादेशिक निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको कोइराला समूहका उम्मेदवार छन् भने महतोसँग अर्का प्रादेशिक भूगोलबाट नेपाली काँग्रेसका जंगीलाल यादव उम्मेदवार छन् । जंगीलाल संविधानसभा सदस्य पनि हुन् भने जिल्ला राजनीतिमा उनको महत्वपूर्ण स्थान छ ।

सामान्यतया सिद्धान्त, विचार र कार्यक्रमभन्दा जातीय लगाव र व्यक्तिगत सम्बन्धका आधारमा मतदान हुने यस क्षेत्रमा यसपालि पनि स्थिति धेरै फरक नरहने जानकारहरूको भनाइ छ । यद्यपि पुरानाप्रति आक्रोश र असन्तुष्टि तथा नयाँप्रति आकर्षण र प्रभावले भने महतोलाई फाइदा पुग्ने देखिन्छ । महतो यसअघि धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका थिए ।

काँग्रेससँगको गठबन्धनपछि लोसपा नेपालका नेता आफ्नो गृहजिल्ला सर्लाहीबाट प्रतिस्पर्धा गरिरहेका छन् । उनको साबिक क्षेत्र अर्थात् धनुषा क्षेत्र नम्बर ३ मा लोसपाका अर्का नेता अनिलकुमार झा नेकपा एमाले–जसपा गठबन्धनका एमाले उम्मेदवार जुली महतोसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

‘सर्लाही क्षेत्र नम्बर २ मा राजेन्द्र महतोको दस वर्षपछिको आगमन हो । यसबीचमा यहाँबाट प्रतिनिधित्व गर्ने सांसदका विकासबाट क्षेत्रवासी त्यतिसारो सन्तुष्ट नभएर निराश छन्,’ क्षेत्रको कोडेनाका दीपेन्द्र चौधरी भन्छन्, ‘अन्य सबै जिल्लामा हुलाकी राजमार्ग बनिसक्दा पनि सर्लाहीका जनता धुलोमाटोबाट त्रस्त छन् । हुलाकी सडकमा आवतजावत गर्नेहरूमध्ये उल्लेख्य सँख्यामा यात्रु दिनहुँ दुर्घटनाको शिकार भइरहेका छन् । स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित भइरहेका छन् ।’

कोडेनासँगै जोडिएको छ एउटा गाउँ । मुसलमान बहुल यो गाउँका बालबालिकालाई अझै नदी तरेर विद्यालय पुग्नुपर्ने दुनिर्यतिमा दरिनुपरेको छ । मनुसमारा नदीले वर्षौं खेतीयोग्य जग्गा कटान गरिरहेको छ । तर, बर्खायाममा टापुमै परिणत हुने यो गाउँमा तटबन्धको प्रबन्धन गरिएको छैन । जसले गर्दा पनि स्थानीयवासीमा क्षोभ छ । उनीहरू विकासका मुद्दामा मतदान गर्न चाहन्छन् ।
सलेमपुर जिल्ला सदरमुकाम मलंगवानजिकको गाउँ हो । यहाँका मतदाताहरूका चाहना पनि विकास नै हो । मूलतः कृषिमा निर्भर यहाँका

जनताले सिँचाइ व्यवस्थापन गर्ने नेतालाई भोट दिन चाहन्छन् । तर, उनीहरूले भने जातीय आधारमा मतदान हुन सक्ने कुरालाई अस्वीकार गर्दैनन् । एक स्थानीय मतदाता भन्छन्, ‘अन्तिम समयमा आएर हरेक चुनावमा जातपातका कुरा हुन्छन् अनि खर्चवर्चका विषय आउँछन् । तर, यहाँको जातीय समीकरण एकनासको छैन । जसले गर्दा जातभातका कुरा गर्नेलाई क्षति पुग्न सक्छ ।’

स्थानीयका अनुसार लोसपाको सांगठनिक भोट र पुराना नेता तथा नयाँ उम्मेदवारका कारण अहिलेको स्थितिमा महतोको अवस्था मजबुत छ भने महिन्द्र राय यादव पनि कम मताधार भएका उम्मेदवार होइनन् । त्यसैले सांगठनिक मत र विभिन्न समुदायका मत प्राप्त गर्न सक्ने उम्मेदवारले बाजी मार्न सक्छन् ।

यसो एमाले–जसपा नेपाल तालमेलका उम्मेदवार राजनारायण साह पनि यहाँका लोकप्रिय नेता हुन् । उनी यसअघिका निर्वाचनमा समेत एमालेका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दैआएका छन् । तर, उनले अहिलेसम्म सांसद पदका लागि जित निकाल्न सकेका छैनन् । उनको पार्टी एमालेको कमजोर सांगठनिक अवस्था र मतदाताको जातीय ध्रवीकरण पनि उनका लागि अनुकूल नहुने गरेकाले साहले चुनावी सफलता प्राप्त गर्न नसकेको बताइन्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!