जनकपुरधाम, १३ कात्तिक ।
जनता समाजवादी पार्टी(जसपा) नेपालले पार्टी नीति र आचारसंहिताविपरीत कार्य गरेको भन्दै पार्टी कार्यकारिणी सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रदीप यादवसँग तीन दिनभित्र स्पष्टीकरण मागेको छ ।
पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा सांसद यादवको निर्देशनमा केही व्यक्तिहरूले उच्छृंखल ढंगबाट पार्टी झन्डा जलाउने, पार्टीविरोधी नारा लगाउने कार्य गरी पर्सा जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्षको पुत्ला जलाउने र जसपा मुर्दावाद केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नेजस्ता अनुशासनहीन, अराजक र पार्टी आचरणविपरीत कार्य गरेको आरोप लगाइएको छ ।
तिनै आरोपका बारेमा सांसद यादवसँग तीन दिनभित्र आउने गरी स्पष्टीकरण माग गरिएको हो । पत्रमा निर्धारित समयावधिभित्र स्पष्टीकरण नआए पार्टी विद्यान र नियमानुसार कार्बाही हुने भनिएको छ ।
सातबुँदे स्पष्टीकरणका प्रश्नमा सांसद यादवले पार्टीविरुद्ध सञ्चारमाध्यममा अभिव्यक्ति दिएको आरोप पनि लगाइएको छ ।
सांसद यादवलाई यसअघि पनि तत्कालीन संघीय समाजवादी पार्टीले एउटा अर्को विषयमा स्पष्टीकरण माग गरी कार्बाही गरेको थियो ।
सांसद यादवले आफ्ना समर्थकहरूले गरेका कार्यका लागि आफूसँग स्पष्टीकरण माग भएकामा असन्तुष्टि व्यक्त गरे ।
प्रशोधक डटकमसँग शनिबार उनले भने, ‘स्पष्टीकरण माग भएको बारे मैले सञ्चारमाध्यमबाटै थाहा पाएको छु । स्वतःस्र्फत रूपमा मेरा समर्थकहरूले गरेका कार्यबारे स्पष्टीकरण माग हुनु दुःखद हो ।’
सांसद यादव पछिल्लो मधेस आन्दोलनका चर्चित पात्र हुन् । उनी युवामाझ अत्यधिक लोकप्रिय नेता मानिनछन् । यादवको जनसम्पर्क र अन्तराष्ट्रिय सम्पर्क अब्बल दर्जाको छ ।
पार्टी स्रोतका अनुसार पार्टीले सांसद यादवलाई पार्टीबाट निलम्बन गर्ने उद्देश्यले नै स्पष्टीकरण माग गरिएको हो । पार्टीले निलम्बन गरेमा यादवको प्रतिनिधिसभा सदस्य पद समेत निलम्बित हुनेछ ।
सांसद यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्विाचित प्रतिनिधिसभा सदस्य हुन् ।
