जनकपुरधाम, २० असोज ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका लागि खरिद गरेका साइकल सार्वजनिक खरिद ऐनअनुसार नियमसम्मत रहेको दाबी गरेका छन् ।
प्रदेशसभा बैठकमा विपक्षी दलका प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिँदै मुख्यमन्त्री राउतले इ–बिडिङ्गमार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको बताए ।
उनले साइकल खरिदमा अनियमितता भएको भनी विभिन्न पक्षबाट उठाइएका प्रश्न कपोलकल्पित र पूर्वाग्रहीमात्र रहेको उल्लेख गरे ।
दुई चरणमा खरिद गरिएका साइकलमध्ये पहिलो चरणमा ओम सत्य साई प्रालि पर्सा रु. ५७०० , सान्यो इन्टरनेसनल जेभी काठमाडौं रु. ७५७६, द डिजाइनर्स नेपाल जेभी भरतपुर रु.६८३१, म्याप इन्टरप्रिन्युर्स काठमाडौं रु.६१५०, र विकास जेनरल ट्रेडिङ्ग रु. ८५०१ कबोल गरेकामा न्यूनतम कबोल गर्ने ओम सत्य साई प्रालि पर्सालाई टेन्डर दिइएको तथ्यांक उनले प्रदेशसभामा प्रस्तुत गरे ।
त्यसैगरी दोस्रो चरणमा गरिएको टेन्डरमा ओम सत्य साई प्रालि पर्साले रु.७५००, सान्यो इन्टरनेसनल जेभी काठमाडौंले रु.७४७५ कबोल गरेका तथा म्याप हेलिक्स जेभिको कबोलमा प्राविधिक त्रुटि देखिएकाले न्यूनतम कबोल गर्ने सान्यो इन्टरनेसनल जेभी काठमाडौंसँग सम्झौता गरी खरिद गरिएको जानकारी दिए ।
सार्वजनिक खरिद ऐनअनुरुप इ–बिडिङ्गमार्फत खरिद गरिएका साइकलमा अनियमितता भएको भन्नु आफैंमा हास्यास्पद, कपोलकल्पित र पूर्वाग्रही रहेको उनको कथन थियो ।
