जनकपुरधाम, २९ कात्तिक ।
जनकपुरधामको देवपुरा रुपैठामा दुई समुदाय वीच भएको झडप साम्य हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा दुई पक्ष वीच सात बुँदे सहमतीसंगै एकआसपमा भाइचाराको नाताले बसोबास गर्ने गरी सहमती भएपछि रुपैठाको अवस्था साम्य भएको हो ।
छठ पर्वमा तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदाय वीच भएको विवादले उग्ररुप लिँदा झडप भएको थियो । झडपले अनियन्त्रित भएपछि स्थानीय प्रशासनले जनकपुरधामको रुपैठामा निषेधाज्ञा लगाइएको छ ।
स्थानीय प्रशासनको पहलमा दुवै पक्षसंग व्यापक छलफल पछि सोमबार सात बुँदे सहमतीसंगै रुपैठाको अवस्था अहिले साम्य भएको छ ।
तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झण्डा हटाउने, तेलिया पोखरी अब देखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, सो पोखरीको सम्पूर्ण व्यवस्थापन पालिकाले नै रेखदेख तथा संरक्षण गर्ने, हिन्दु तथा मुस्लिमले एक अर्कालाई स–सम्मान गर्ने, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख रिता मिश्रको संयोजकत्वमा ४ जना हिन्दु प्रतिनिधि र चार जना मुस्लिम प्रतिनिधि रहने गरी सहमती कार्यान्वयनका लागि समिति गठन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
छठ पर्व समापनसंगै पुनः शुक्रबार एक पक्षले प्रदर्शन गरेपछि रुपैठामा दुई समुदाय वीच झडप भएको थियो । सो झडपमा परी दुई प्रहरी गरी छ जना घाइते भएको थियो ।
छठ पर्वका लागि पोखरीमा घाट निर्माणको विषयलाई लिएर भएको दुई समुदायबीचको विवादले उग्ररूप लिएपछि जनकपुरधामको वडा नम्बर २० स्थित देवपुरा रुपैठामा निषेधाज्ञा तीन दिन थप्दै मंगलबार राति १० बजेसम्मका लागि जारी गरिएको थियो ।
दुई समुदाय वीच सहमती भएसंगै निषेधाज्ञा हटाउने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।
