‘सिके राउतको आन्दोलन उच्खृंल र भत्सर्नायोग्य’
सिरहा, १३ पुस ।
जिल्लास्थित विभिन्न छ राजनीतिक दलले जनमत पार्टीले केही कार्यकर्ताको उक्साहटमा लागेर बन्द, आमहड्ताल र चक्काजामजस्ता विरोधका कार्यक्रम सार्वजनिक गरी जनजीवन त्रसित तुल्याएको ठहर गरेका छन् ।
जिल्लाको औरही गाउँपालिकाबाट वितरण हुने गहुँको बिउलाई लिएर स्थानीय पालिकाले वार्ता र संवादका माध्यमबाट सर्वदलीय सहमति कायम गर्नुपर्नेमा कुनै विधि र प्रक्रिया नअपनाई जनमत पार्टीले आन्दोलन घोषणका नाममा उच्खृंल गतिविधि सञ्चालित गरी जिल्लाको शान्तिसुरक्षामा प्रतिकूल असर पार्ने कार्य भएको छ ती दलहरूको भनाइ छ ।
मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सिरहास्थित नेपाली काँग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा नेपालका विभिन्न तहका नेताहरूले जनमत पार्टीको सो कार्यको भत्र्सनासमेत गरेका छन् ।
दलहरूको विज्ञप्तिमा प्रहरी प्रशासनले विभिन्न घटनामा संलग्न रहेका आरोपमा नियन्त्रणमा लिएका सम्पूर्ण व्यक्तिलाई थुनामुक्त गर्न र जिल्लामा जारी निषेधाज्ञा फिर्ता लिन पनि माग गरिएको छ ।
जिल्लाको औरही गाउँपालिकाबाट किसानहरूले गहुँको बिउ समयमै प्राप्त गर्न नसकेको भनी विद्रोह गरेर गहुँको बिउ भण्डारण गरेको गोदामबाट गत पुस ६ गते ताला तोडी लगेका थिए ।
सोही विषयमा गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवको जाहेरीबाट प्रहरीले कारी भन्ने मिथिलेश यादवलाई नियन्त्रणमा लिएपछि जनमत पार्टीले मसाल जुलुस, आमहड्ताल र चक्काजामजस्ता विरोधका कार्यक्रम गर्दैआएको छ ।
सोही क्रममा प्रदर्शनकारीहरूले सडकमा गुडिरहेका गाडी तोडफोड तथा आगजनी गरेका आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ ।
विज्ञप्तिमा दलहरूका माग सम्बोधन गरेर प्रतिकूल अवस्थालाई सामान्यीकरण गर्न प्रशासनसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
दलहरुले आफ्ना मागलाई वेवास्ता गरिए त्यसबाट उत्पन्न परिस्थिति र परिणामको जिम्मेवारी प्रशासनकै हुने चेतावनी दिएको छ ।
पछिल्लो समय राजनीतिका नाममा आपराधिक क्रियाकलाप भइरहेको प्रति आफूहरूको ध्यानाकृष्ट भएको जनाउँदै दलहरूले जिल्लामा शान्तिसुरक्षा काययम राख्न आफूहरू तत्पर रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
