डिबी साह
सुखीपुर(सिरहा), कात्तिक ३० गते ।
सिरहा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार चित्रलेखा यादव र नेकपा एमाले–जसपा नेपाल गठबन्धनबाट जसपाका उम्मेदवार राजकिशोर यादवबीच तीव्र प्रतिस्पर्धा छ । प्रजातन्त्र पुनसर््थापनापछि जिल्लाका विभिन्न क्षेत्रबाट तीनपटक व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गरेकी चित्रलेखाको मताधार र प्रभाव क्षेत्रमा कमी आए पनि सकिएको अवस्था छैन भने मधेस आन्दोलनपछि राष्ट्रिय राजनीतिमा उदाएका र दुईपटक जिल्लाबाट प्रत्यक्षतर्फ चुनाव जितेका राजकिशोरको परिचय पनि उत्तिकै दरो छ ।
स्थानीय तहको मतपरिणाम अनुसार यस क्षेत्रका पाँच पालिकामा जसपा र एमालेकै नेतृत्व छ । अर्थात् स्थानीय तहमा नेतृत्व गर्ने दृष्टिले यहाँ एमाले–जसपा गठबन्धन मजबुत अवस्थामा छ । तर, सरल रेखामा नहिँड्ने राजनीतिक यथार्थका कारण जसपा उम्मेदवार राजकिशोर सजिलै जित्ने किट्न सकिँदैन । स्थानीयहरू भन्छन्, ‘क्षेत्रको विकासका लागि लामो समय जनप्रतिनिधि हुँदा पनि चित्रलेखाले काम गर्न नसकेकी असन्तुष्टि व्याप्त छ । तर, अरू नै क्षेत्रबाट आएकाले चुनाव जितेर गएपछि फर्कन्छन् कि फर्कदैनन् भन्ने आशंकाको घेराभित्र राजकिशोर पनि छ ।’
मत माग्न घरदैलो गर्ने काममा दुवै उम्मेदवार समान रूपमा क्रियाशील छन् । गठबन्धनमा आबद्ध दलका नेताकार्यकर्ता परिचालनमा दुवैले जुक्ति लगाएका छन् । गठबन्धनभित्रका मत इमान्दारीपूर्वक आउने विषयमा दुवै उम्मेदवारसँग संशय छ । यद्यपि एमालेसँगको तालमेलमा विश्वासिलो सहकार्य भएको राष्ट्रिय अनुभव जसपासँग छ ।
जसपाका युवा नेता सीताराम यादव भन्छन्, ‘देश राजनीतिक धु्रवीकरणमा जाँदा एमालेसँगको हाम्रो सहकार्य भनेकै अनुकूल परिणामको अपेक्षा नै हो । सिरहा क्षेत्र नम्बर २ मा हाम्रो मत बढी छ । एमालेको मत हाम्रो गठबन्धनलाई नै आउनेमा कुनै सन्देह छैन ।’
उनले एमाले–जसपा तालमेलसँग भएका मतबाहेक अन्य दलहरूका मतसमेत जसपा उम्मेदवार राजकिशोरलाई आउने दाबी गरे । उनले भने, ‘नेताप्रतिको निराशा दलीय आग्रहभन्दा पनि ठूलो कुरा हो । यस क्षेत्रबाट पहिला जितेर गएका नेताहरू विकास निर्माणका कार्य र जनजीविकाका सबालमा चुकेका छन् । त्यसैले अहिलेको आशा भनेकै राजकिशोरजी हो ।’
तर, सुखीपुर बजारका एक पानपसलेको बुझाइमा प्रतिस्पर्धामा कसले कसलाई उछिन्न सक्ने टयाक्क भन्ने बेला अहिले नभएको बताए । उनले भने, ‘अमुक राजनीतिक दलमा कोही आबद्ध छन् वा ती दलका शुभेच्छुक छन् भन्ने आधारमा पनि मत आउने हो । तर यस क्षेत्रमा भोट ब्यांक भएका जनप्रतिनिधि वा व्यक्तिहरू छन् । उनको मत कसले र कुन सर्तमा हासिल गर्ने विषयले पनि जितहार गराउने हो ।’
चित्रलेखा र राजकिशोरका अतिरिक्त जनमत पार्टीका र स्वतन्त्र उम्मेदवारहरू समेत चुनावी मैदानमा छन् । दुवै उम्मेदवारका मताधार क्षेत्र कस्सिए पनि छिटपुट तर निर्णायक मत भने उनीहरूसँग छन् । मुख्य चुनावी प्रतिस्पर्धामा रहेका राजकिशोर र चित्रलेखामध्ये जसले ती मत प्राप्त गर्न सफल हुन्छन् तिनी नै विजयोन्मुख हुने विश्वास स्थानीयको छ ।
सिरहाको यो क्षेत्र यादव बाहुल्य जनसाँख्यिक स्थिति भएको ठाउँ हो । तर, यहाँ कोइरी, मुसलमान, कलाल र सुडी आदि मतदाता पनि छन् । स्थानीय एक विश्लेषकका अनुसार गठबन्धन, दलीय, जातीय वा व्यक्तिगत कारणले भए पनि यस क्षेत्रमा जित्ने भनेकै दुई यादवमध्ये एक हुन् । जसमा यादव जनसँख्याको ठूलो हिस्साले एउटालाई सघाउनुपर्ने हुन्छ । अन्य जातिको मत भने विजयोपेक्षा गरेका उम्मेदवारका लागि अमृतजल साबित हुने पनि उनले बताए ।
मधेस आन्दोलनपछि मधेसका जिल्लामा बहुजातीय आधार प्राप्त गर्ने दलमा मूलतः नेकपा एमाले र जसपा नेपाल नै अगाडि देखिन्छन् । मधेसका थुप्रा जिल्लाबाट एमाले बढारिने संकटबाट गुज्रिरहेका बेला सिरहामा भने काँग्रेसको किल्ला भत्काउन सफल भएको थियो । गत स्थानीय तह निर्वाचनमा एमालेको सही परिस्थितिमा बदलाव आएको छैन । त्यसैले पाँचदलीय गठबन्धन भने मतपरिणाम नआउँदासम्म नै त्रसित अवस्थामा नै रहने देखिन्छ ।
